खरसाङ: खरसाङ खण्डको लंगभ्यु अन्तर्गत सात घुम्ती बस्तीमा बाटो निर्माणको लागि शिलान्यासको कार्यक्रम पंखाबारी लंगभ्यु अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधानको बाहुलीबाट विविध पूजा अर्चनासहित सम्पन्न भएको छ। आज सम्पन्न शिलान्यास कार्यक्रममा समष्टि कार्यकारी सभासद कल्पना प्रधान, मनोनीत सभासद प्रणाम रसाईली, सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, उप-प्रधान सन्तोस लामा, पञ्चायत सदस्यगण, अभियन्ता दिपेन्द्र घिमिरे, समष्टि सचिव ललित प्रधान, आदिको विशेष उपस्थिति रहेको थियो। मोठ रकम ८ करोड १० लाखको लागतमा निर्माण हुन गइरहेको सडक खरसाङ नजिक कोदोबारी सात घुम्ती, दुर्बीन, बरबोटे हुँदै साई मन्दिरसम्म निर्माण हुनेछ। उक्त बाटो निर्माण सात घुम्ती साथै दुर्बीन गाउँको दीर्घकालीन माग नेै यही बाटो निर्माण रहेको थियो। आज सम्पन्न शिलान्यासको कार्यले स्थानीयहरूको दीर्घकालीन माग पुरा हुन गइरहेकोले ग्रामवासीमा खुशीको लहर छाएको बताइएको छ। यसको साथै ग्रामवासीले यस कार्यको निम्ति जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद कल्पना प्रधान साथै मनोनीत सभासद प्रणाम रसाईलीप्रति आभार व्यक्त गरेका छन्।

लंगभ्युको संयोजक साथै समिति सदस्य मौसम लामाले सञ्चालन गरेको शिलान्यास कार्यक्रमलाई कार्यकारी सभासद कल्पना प्रधान, मुख्य अभियान्ता डब्लूबीएसआरडीए दिपेन्द्र, ठेकेदार अशोक मार्ता आदिले सम्बोधन गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै सभासद कल्पना प्रधानले सात घुम्ती साथै दुर्बीन क्षेत्रका ग्रामवासीको दीर्घकालीन माग पूरा हुन गइरहेको जनाइन्। यस कार्यको निम्ति जीटीए प्रमुख अनित थापाप्रति ग्रामवासी साथै आफ्नो पक्षबाट कृतज्ञता प्रकट गरिन्। बाटो निमार्ण कार्यको निम्ति ग्रामवासीको पूर्ण सहयोगको आवश्यकता रहेको पनि सभासद कल्पना प्रधानले जनाइन्। बाटोको निर्माण कार्य गुणस्तरीय हुन पर्ने पनि उहाँले ठेकेदारलाई जनाइन्। ठेकेदार अशोक मार्ताले बाटोको निर्माण कार्य गुणस्तरीय हुने साथै गाउँ घरमा कुनै पनि समाजमा अप्ठयारो परेको खण्डमा आफू सहयोग गर्न सँधै तयार रहेको पनि जनाए।










