खरसाङ: खरसाङको एक प्रतिष्ठित सामाजिक संस्था प्रतिभा परिवार, स्प्रीङ साइड, लाइनधुराले स्थापनाको ३७औँ वर्षगाँठ खूबै हर्षोल्लास अनि रंगारंग कार्यक्रममाझ सम्पन्न भएको छ। समारोहमा मुख्य अतिथिको रूपमा जीटीएको महिला तथा शिशु विकास विभागकी कार्यकारी सभासद कल्पना प्रधान उपस्थित थिइन् भने विशिष्ट अतिथिहरूमा खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधान, पूर्व बीओए जैतुन निशा, खस विकास बोर्ड सदस्य सबिता कार्की, शिक्षक दिव्यत्तम अधिकारी, नमस्ते खरसाङ च्यानलका निर्देशक तथा खरसाङ महकुमा खेलकूद सङ्घका सचिव निर्मल गुरूङ, उद्घोषिका सबिना गिरी, नृत्यकार सिल्भेस्टर लेप्चा, लङ्भ्यू पञ्चायत समिति सदस्य मौसम तामाङ, करबीर-स्प्रीङ साइड पञ्चायत सदस्य बिमल राई, समीर लामा लगायत स्प्रीङ साइड ग्राम सुधार समितिका सभापति, सचिव लगायत स्थानीय विभिन्न समाज अनि सङ्घ-संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। विविध रंगारंग कार्यक्रमसहित सम्पन्न समारोहमा यह वर्षको मिस्टर प्रतिभा ललित सेवा अनि मिस प्रतिभा दिया गोलेलाई मुख्य एवम् प्रमुख अतिथि र अन्यहरूको बाहुलीबाट उपहारसहित सम्मान पत्र तथा बुके अनि ट्रफीहरू प्रदान गरियो।

त्यसबाहेक वर्ष २०२४ को असल अभिभावकहरूको उपाधि स्याक्तु लामा, दिपराज नागी अनि नबिना नेगीलाई प्रदान गरियो भने कठिन परिश्रमी अनित कार्की अनि दिपाली तामाङ, उत्तम अनुशासक बरूण मुखिया अनि मिङ्मा गोले, असल खेलाडी रिसिका लामा तथा मोस्ट प्रमोजिङ डान्सर याङ्जी डोल्मा लामालाई पनि खदा सहित उपहार र स्मृति चिन्हहरू प्रदान गरियो।









