क्रिसमसको खुशियालीले आनन्दित बन्यो फुवागढीको लामेटार

00-4-P

प्रतिष्ठा कार्यक्रममा दीप मिलन प्रधान, श्रद्धा लामगादे, सृष्टि घिसिङ

गौरव लामा सम्मानित

टीआरआई समाचार

मिरिक:  हिउँदको चिसो मौसममा पहाडभरि नै क्रिसमस पर्वको खुशियालीले न्यानोपन छाएको छl आइतबार (२५ दिसम्बर) क्रिसमस पर्वको पावन अवसरमा मिरिक नजिक फुवागढ़ी चियाबगानको लामेटारमा मानवता, शान्ति, प्रेम र सद्भावनाको सुसमाचार छर्दै सांगीतिक वातावरणमा फुवागढीको ‘आराधाना चर्च’को आयोजनामा प्रतिष्ठा कार्यक्रम सम्पन्न भयोl समाजमा आआफ्ना क्षेत्रबाट विशेष योगदान दिँदै आएका विशिष्ट प्रतिभाशाली व्यक्तिहरुलाई कदर गर्दै सम्मान जनाइयोl

पास्टर राजीव सुब्बाद्वारा संचालित यस प्रतिष्ठा कार्यक्रममा फुवागढी चियाबारी क्षेत्रबाट कक्षा १० देखि नै पत्रकारिताद्वारा समाजलाई विशेष योगदान दिँदै आएका पत्रकार दीप मिलन प्रधानलाई सम्बर्द्धना जनाइयोl खेलकुदको क्षेत्रमा फुवागढ़ीका राष्ट्रिय ब्याडमिन्टन खेलाडी श्रद्धा लामगादे, शिक्षाको क्षेत्रमा एमबीबीएस गर्दै आइरहेकी सृष्टि घिसिङ अनि संगीत क्षेत्रमा नेपालमा चर्चित बनेका गौरव लामालाई सम्बर्द्धना जनाइयो। पास्टर राजीव सुब्बाले आफ्ना गाउँका प्रतिभाहरुलाई समयमै यसरी सम्बर्द्धना जनाउन पाउँदा अत्यन्त खुशी लागेको बताए।

कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुतिद्वारा सबैलई मनोरञ्जन गराएl यसमा सुसमाचारले भरिएका गीतहरु प्रस्तुत गरिएको थियोl कार्यक्रममा उपस्थित अतिथिहरुले क्रिसमस पर्व र यसको महत्वबारेमा आफ्नो वक्तव्यद्वारा बताए। यस कार्यक्रमको बीचमा आकाशवाणी खरसाङका वरिष्ठ उद्घोषक उमेश कार्कीढोलीले कार्यक्रमका उद्घोषक पास्टर राजीव सुब्बासित सहभागी हुँदै क्रिसमस पर्वको विशेषताबारे चर्चा गर्दै मंच साझा गरेl कार्यक्रममा मिरिक भेकका संगीतकार, चलचित्र निर्माता एवं निर्देशक कैलाश राईले स्याक्सोफोनमा मनै छुने संगीतको धुन प्रस्तुत गरेl आकाशवाणी खरसाङ साथै पहाडी भेकका सुपरिचित संगीतकार महेश्वर लामाले गीत गाउँदा लामेटारको कार्यक्रम स्थलमा सबैजना नाच्दा रौसिलो वातावरण जम्मियोl वरिष्ठ पास्टर ए.बी. सुब्बाको प्रार्थनाबाट शुरु भएको कार्यक्रममा मुख्य अतिथिको रुपमा पास्टर अभय मनेन,  राखी मनेन, उपस्थित थिएl अभय मानेनले पनि सुसमाचारले भरिएका गीत प्रस्तुत गरेl कार्यक्रममा भावना थापा, बिदुर गुरुङ, श्रीमती इस्तरा गुरुङ, विवेक शर्मा, अशोक घिसिङ, रहिम रामुदामुलगायत अन्य विशिष्ट अतिथिको रुपमा उपस्थित थिए।

About Author

Advertisement