दार्जिलिङ: क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टी क्रामाकपाको शीर्ष टोलीले आज इन्टरलोक्युटर पंकजकुमार सिंहसँग भेट गरी गोर्खाहरूको संवैधानिक व्यवस्थाको मागसम्बन्धी ज्ञापनपत्र पुनः बुझाएका छन्। इन्टरलोक्युटर पंकजकुमार सिंहसित भेटघाट गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै क्रामाकपा टोलीले दार्जिलिङ पहाड, तराई र डुवर्सका गोर्खा समुदायका दीर्घकालीन समस्याको समाधानका लागि भारत सरकारले अघि बढाएको संवाद प्रक्रियामा महत्वपूर्ण प्रगति भएको जनाएको छ। टोलीका अनुसार, पश्चिम बंगाल विधानसभा चुनावपछि संवाद प्रक्रिया पुनः सुरु भएको छ र इन्टरलोक्युटरले पहिलो चरणको छलफल सम्पन्न गरिसकेका छन्। क्रामाकपा टोलीले ज्ञापन पत्रमा केन्द्र र राज्य सरकारका सकरात्मक पहलले गोर्खा जनताको आकांक्षाअनुरूप सम्मानजनक तथा दीर्घकालीन समाधानको आशा बढाएको उल्लेख गरिएको छ। यसको साथै संवाद प्रक्रियाको निरन्तरता र सबै पक्षको सहकार्यबाट स्थायी समाधान प्राप्त हुने विश्वास पनि व्यक्त गरिएको छ।










