क्यानाडा -अमेरिका व्यापार तनाव थप चर्कियो

e71247ce-2574-42d5-a60e-7ee04b1778b7

वाशिंटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक शुल्‍क नीतिविरुद्ध क्यानडाले ठूलो प्रतिकारात्मक कदम चालेको छ। क्यानडा सरकारले अमेरिकाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर मूल्यका वस्तुमा डलर–फर–डलर आधारमा प्रतिशोधात्मक शुल्‍क लगाउने घोषणा गरेको छ।
दुई देशबीचको व्यापार वार्ता निष्कर्षविहीन बनेपछि ट्रम्प प्रशासनले गत शनिबार क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशतसम्म शुल्‍क लगाएपछि त्यसको जवाफमा क्यानडाले करिब ७०० अमेरिकी वस्तुमा १५, २५ र ५० प्रतिशतसम्म नयाँ शुल्‍क लगाउने निर्णय गरेको हो। यी नयाँ शुल्‍क आगामी सेप्टेम्बर ८ देखि लागू हुने बताइएको छ।
क्यानडाका अर्थमन्त्री फ्राँस्वा–फिलिप श्याम्पेनले डलर–फर–डलर प्रतिकारात्मक शुल्‍कसँगै सरकारले घोषणा गरेको अर्बौं डलरको सहयोग प्याकेजले देशका श्रमिक, किसान, परिवार तथा व्यवसायलाई संरक्षण गर्ने बताएका छन्।
कुन वस्तुमा कति शुल्‍क?
क्यानडाको नयाँ शुल्‍क सूचीअनुसार अमेरिकी इस्पात, अल्युमिनियम, फर्निचर तथा कपडामा ५० प्रतिशत शुल्‍क लगाइएको छ। त्यस्तै, चिज, घरेलु उपकरण तथा केही समुद्री खाद्य पदार्थमा २५ प्रतिशत र इलेक्ट्रोनिक्स तथा विभिन्न मेसिनरीमा १५ प्रतिशत शुल्‍क निर्धारण गरिएको छ।
क्यानडा सरकारले सन् २०२४ को व्यापार तथ्यांकलाई आधार बनाएर शुल्‍क सूची तयार गरेको जनाएको छ। यो सूचीले अमेरिकाबाट क्यानडाले गर्ने कुल आयातको करिब ४.५ प्रतिशत हिस्सा समेट्छ।
यता, ट्रम्प प्रशासनले क्यानाडाली वस्तुमाथि लगाएको शुल्‍कले अमेरिकातर्फ क्यानडाको कुल निर्यातको करिब ५ प्रतिशत हिस्सा प्रभावित हुने देखिन्छ। यद्यपि, काठ र किचन क्याबिनेटजस्ता पहिल्यै दबाबमा रहेका क्षेत्रहरूमा यसको असर गम्भीर हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
‘लेक अमेरिका’ नामकरणको विवाद
व्यापार तनाव चर्किरहेका बेला राष्ट्रपति ट्रम्पले दुई देशको सीमामा रहेको लेक अन्टारियोको नाम परिवर्तन गरेर ‘लेक अमेरिका’ राख्ने विषयमा दिएको अभिव्यक्तिले पनि नयाँ विवाद जन्माएको छ। यसले क्यानडा–अमेरिका सम्बन्धमा व्यापारिक विवादसँगै राजनीतिक र कूटनीतिक तनावसमेत बढेको संकेत गरेको छ।
क्यानडाको प्रतिकारात्मक शुल्‍क घोषणापछि ह्वाइट हाउस र अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको थिएन।
दशकौँदेखि घनिष्ठ आर्थिक तथा रणनीतिक साझेदार रहेका क्यानडा र अमेरिकाबीचको पछिल्लो व्यापार विवादले दुई देशबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ। आगामी दिनमा हुने वार्ता र दुवै पक्षले शुल्‍कसम्बन्धी नीति कसरी अघि बढाउँछन् भन्ने कुराले उत्तर अमेरिकी व्यापार सम्बन्धको दिशासमेत निर्धारण गर्ने देखिन्छ।

About Author

Advertisement