गान्तोक: राज्यको क्षमता विकास विभागले आज १०औं विश्व युवा कौशल क्षमता दिवस सोकेथाङ,लिङदिङको पशुपालन एवम पशुधन विभागको प्रेक्षागृहमा पालन गऱ्यो। यस वर्षको कार्यक्रमको थिम शान्ति र विकासको निम्ति युवा कौशल रहेको थियो भने कार्यक्रममा कौशल विकास विभागका सल्लाहकार मदन सिञ्चुरी मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने अतिरिक्त सचिव साम्दुप भोटाय लगायत विभागका अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मदन सिञ्चुरीले यदि युवा दक्ष र कौशल भएको खण्डमा अपराध दरमा कमी आउनुका साथै समाजको सर्वाङ्गीण विकास हुने दाबी गरे। सिक्किम एक शान्तिप्रिया राज्य रहेको र सरकारले हरेक युवाहरूलाई विकासका अवसरहरू उपलब्ध गराउने दिशामा काम गरिरहेको बताए। यदि प्रत्येक युवाले यी अवसरहरूको उचित सदुपयोग गर्न सक्यो भने सिक्किम राज्य समृद्ध राज्य बन्न सक्ने उनले सम्भावना व्यक्त गरे। स्वागत सम्बोधनमा विभागका अतिरिक्त सचिव साम्दुप भोटियाले युवाहरूलाई क्षमता विकास प्रदान गर्न विभागले शुरू गरेको विभिन्न कार्य र योजनामाथि प्रकाश पार्दै विश्व युवा कौशल दिवसको महत्वबारे प्रकाश पारे। सोही प्रकारले विभागका प्रमुख प्रशासक विशाल राईले विभागद्वारा शुरू गरिएको विभिन्न क्षमता विकास कार्यक्रमबारे जानकारी गराए।









