जनजाति उत्थानमा वनवासी कल्याण आश्रमको भूमिका प्रशंसनीय
काेलकाता: खरसाङ विधानसभा क्षेत्रका विधायक सोनाम लामा कोलकातामा सम्मानित भएका छन्। पूर्वाञ्चल कल्याण आश्रमद्वारा कोलकातामा आयोजित एक विशेष ‘जनजाति विधायक/विधायिका सम्मान समारोह’-मा उनलाई सम्मान गरिएको हो। सम्मान ग्रहण गरेपछि विधायक लामाले यसलाई आफ्नो व्यक्तिगत सम्मान मात्र नभएर खरसाङ विधानसभा क्षेत्रका सम्पूर्ण जनताको सम्मानको रूपमा लिएको बताएका छन्। उनले जनताको विश्वास र आशालाई सधैं आत्मसात गर्दै जनसेवा र जनजाति समुदायको विकासका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता समेत व्यक्त गरे।
समारोहलाई सम्बोधन गर्दै विधायक लामाले देशभरका जनजाति समुदायको सर्वाङ्गीण विकासका लागि वनवासी कल्याण आश्रमले दशकौँदेखि निःस्वार्थ भावले कार्य गर्दै आएको उल्लेख गरे। विशेषगरी देशका दुर्गम जनजाति बस्तीहरूमा शिक्षा, स्वास्थ्य, संस्कार, स्वावलम्बन तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा आश्रमले पुर्याएको योगदान उल्लेखनीय रहेको उनको भनाइ थियो। जनजाति बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा, छात्रावासको सुविधा, व्यक्तित्व विकास र आफ्नो मौलिक संस्कृति एवं परम्पराप्रति गौरवको भावना जगाउने कार्य वास्तवमै प्रेरणादायी रहेको भन्दै उनले संस्थाको खुलेर प्रशंसा गरे।
यस्ता सेवामूलक कार्यहरूद्वारा जनजाति समाजलाई सशक्त बनाउँदै राष्ट्र निर्माणमा पुर्याइरहेको योगदानका लागि उनले पूर्वाञ्चल कल्याण आश्रम परिवारप्रति हार्दिक आभार एवं धन्यवाद प्रकट गरेका छन्। दुर्गम क्षेत्रका आदिवासी तथा जनजाति समुदायलाई मूलधारमा ल्याउन र उनीहरूको सामाजिक अधिकार सुनिश्चित गर्न यस्ता संस्थाहरूको समर्पण प्रशंसनीय रहेको धारणा कार्यक्रमका अन्य वक्ताहरूले पनि राखेका थिए।










