कोरोनाको लकडाउनमा बिउँझिएका सन्तोष अधिकारीको चाहना १२ जनवरीमा पूरा हुँदै

414709861_2264537100409193_7652996790312868503_n

कोरोनाको लकडाउनमा बिउँझिएको २२ वर्षदेखि मनभित्र ठूलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना अब १२ जनवरीमा डेब्यू हुँदैछ। डेब्यूको दिन नजिकिदैं गर्दा सन्तोषमा थोरै डर र धेरै उत्साह छ। फिल्ममा केन्द्रीय भूमिकामा देखिदैंछन्, जहाँ उनलाई एउटी छोरीको बाबुका रुपमा देख्न सकिनेछ। डेब्यूलाई लिएर उत्साहित देखिएका सन्तोषले पोखरा लेकसाइडको भेटमा आफ्नो उमेर खुलाए। उमेरले उनी ४० कटिसकेका छन्। उनको ठ्याक्कै उमेर ४२ वर्ष हो। ४० कटेपछि अभिनयको संसारमा रमाउन आइपुगेका सन्तोष फिल्ममा हिरोको रुपमा यो उमेरमा भएको डेब्यूलाई स्वभाविक लिन्छन्।

उनी भन्छन्, ‘कुनै पनि काम शुरु गर्न कहिले ढिला हुँदैन। शुरु नै नगर्नुचाँहि समस्या हो। कुनै काम ढिला शुरु गर्ने म पहिलो होइन। भर्खरै ७० कटेकी हजुरआमा त्रिभुवन विश्वविद्यालयबाट दिक्षित हुनुभयो। उहाँले ढिला भयो ठान्नु भएको भए, त्यसबाट उहाँले पाउने असिम खुशी महसुस कसरी गर्नुहुन्थ्यो होला र? कुनै पनि कुराको कल्पनामा रमाउनु जति मजा छ त्यो भन्दा बढि मजा त त्यो कल्पनालाई साकार बनाउनुमा छ नि होइन र? मेरो उमेरको हिसाब लगाउने हो भने त ती ७० कटेकी हजुरआमाको अगाडि मसँगै थुप्रै कुराहरु गर्न थुप्रै समय छl’ ‘म लक्ष्य कति कठिन वा असहज छ भनेर यात्रा गर्न डराउने मान्छे होइन। म त्यो यात्रालाई तय गर्न हिँड्न रुचाउने मान्छे हुँ’, सन्तोषले आत्मविश्वासका साथ भने।

सबै चिजको तुलना उमेरबाट हुन नसक्ने उनको तर्क छ। उनले खोज्दै जाँदा आफ्नो क्षमता र खुबी प्रस्तुत गर्न उमेर तगारो नभएका उदाहरण प्रशस्तै पाइने बताउँछन्। हुन पनि खोज्ने हो भने सन्तोषले भनेजस्तै काम गर्नलाई उमेर फगत एउटा संख्या हो भन्ने उदाहरण धेरै क्षेत्रमा छन्। उनी ग्यालमरको क्षेत्र भएकाले यस्तो प्रश्न उठेको हुनसक्ने ठानछन्। तर उनको बुझाइमा बलिउड-हलिउडमा पनि पाका हिरोहरुको बोलबाला जारी रहेकाले आफूलाई करियर सुरु गर्न उमेरले नछेकेको बताउँछन्। उनी ‘चित्रा’ सिनेमाबाट निक्कै आशावादी छन्। फिल्मले उनलाई अभिनय र एक्सन गर्न सक्ने हिरोको परिचय दियोस् भन्ने चाहानामा छन्। फिल्ममा उनलाई एउटा मायालु बाबुसँगै गज्जब एक्सनमा देख्न सकिनेछ।
‘चित्राको रिलिजपछि यी सबै जिज्ञासाको उत्तर पाउँछु होला। मेरो मेहनतले राम्रै परिणाम देला’, उनी भन्छन्। उनले नेपाली एक्सन सुपरस्टार विराज भट्टको सम्झना गरे। ‘खुकुरी फिल्ममा सानो भूमिकामा डेब्यू हुनुभयो, तर हिरोको रुपमा पर्दामा आउन उहाँलाई डेब्यू हुन धेरै वर्ष लाग्यो। वर्षहरु लागे पनि उहाँ लक्ष्य पछ्याउनबाट थाक्नु भएन। पछि नेपाली फिल्मको सुपरस्टार त हुनु नै भयो, छिमेकी देशको भोजपुरी फिल्ममा पनि स्टार हुनुभएको छ। यस्ता कुराको उर्जाले नै हो, म डेब्यूका लागि तयार भएको हुँ। मलाई थाहा छ बाटो लामो छ तर म आफ्नो लक्ष्य भेट्नेमा ढुक्क छु’, उनले भने। आशा गरौं सन्तोषको फिल्मी करियरले लय समातोस्।

About Author

Advertisement