मुस्ताङ: सम्पदा सूचीमा सूचीकृत ‘माटोको सहर’ लोमन्थाङ र चीनसँगको २४ नम्बरको सीमास्तम्भ रहेको तिब्बती पठार नेचुङ–लेक्जे (कोरला) नाकामा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ।
बालुवा नै बालुवाको सुख्खा अनौठो भूगोलले मात्र होइन, हिमालपारीको मुस्ताङ र चीनको स्वशासित तिब्बत सीमावर्ती लोमन्थाङ (कोरला नाका) पर्यटकका आकर्षणको केन्द्रविन्दु बनेको छ। तिब्बती बोर्डरसम्म मोटरबाटो पुगेपछि उपल्लो मुस्ताङको लोमन्थाङमा आन्तरिक पर्यटकको भीड़ लागेको छ।
लोमन्थाङ गाउँपालिका-१ नेचुङस्थित सशस्त्र प्रहरी बलको बीओपीका अनुसार सेप्टेम्बरदेखि दैनिक ४ हजार बढी नेपाली बस, जिप र मोटरसाइकलमा कोरला नाका पुगेका छन्।
‘सेप्टेम्बर तेस्रो सातादेखि नै कोरला नाकामा पुग्ने आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ। दैनिक बस, जिप, भ्यान, मोटरसाइकल, स्कुटरसमेतका ३ सयबढी सवारीसाधनहरु कोरला भित्रिन्छन्,’ नेचुङस्थित सशस्त्र प्रहरी बलको बीओपीका प्रमुख सशस्त्र प्रहरी इन्स्पेक्टर नारायण अधिकारीले भने, ‘कोरला नाकामा नेपालीको आर्कषण बढेसँगै चिनियाँ पक्षले बढी सतर्कता अपनाएको छ। ड्रोन र डीएसएलआर क्यामेराले तिब्बत तर्फका संरचनाको फोटो भिडियो खिच्न नपाइने जनाएपछि हामीले कोरला पुग्ने यात्रुलाइ सतर्क गराउने गरेका छौं।’
इतिहासमा आफ्नो राज्य सुरक्षित राख्न ‘ग्रेटवाल’खडा गरेको चिनियाँले दक्षिणी नाकाहरुमध्यको एक कोरला नाकामा दायाँबायाँ ठाउँठाउँमा सोलारसहित स्वचालित सीसीटिभी र अन्य उपकरण जडान गरी कयौं किलोमिटर लामो काँडेतारबार लगाएर उच्च सुरक्षा सर्तकता तर्फ संकेत गरेको छ।
सशस्त्र प्रहरी इन्स्पेक्टर अधिकारीले थपे, ‘अहिले कोरला पुग्ने सबै यात्रुले नेचुङमा अभिलेखित भइ, विदेशी भए/नभएको प्रमाणित गरी जानु पर्ने व्यवस्था गरिएकोले कोरला आउँदा नेपाली भएको प्रमाणपत्र बोक्नु पर्ने भएको छ।’
त्यस्तै बाह्य पर्यटकका लागि अर्धनिषेधित उपल्लो मुस्ताङ र कोरला सीमादेखि केही किलोमिटर तल छोसेरसम्म पुग्ने बाह्य पर्यटकको संख्या पनि उत्तिकै बढेको छ। सशस्त्र प्रहरी बल नेचुङ बीओपीको अभिलेख अनुसार सेप्टेम्बरदेखि अक्टूबरतेस्रो सातासम्म ५ हजार बाह्य पर्यटकले लोमन्थाङ र छोसेरस्थित झोङ गुफा भ्रमण गरेका छन्।
उपल्लो मुस्ताङ भ्रमणमा जान बाह्य पर्यटकले भने कम्तीमा २ जनाको समूहमा र न्यूनतम १० दिनको ५ सय डलर अतिरिक्त शुल्क बुझाएर भ्रमण अनुमति लिनु पर्छ। कारण खुलाएर थप बस्ने पर्यटकले दैनिक अतिरिक्त ७० डलर तिर्नु पर्छ।
छोसेर स्थित इलाका प्रहरी कार्यालयका अनुसार कोरला नाका हेर्न सेप्टेम्बर-नवंबर र फरबरी-मईको सिजनमा आन्तरिक पर्यटक पुग्छन्। कोरला पुग्ने मध्य ८० प्रतिशत अन्तरिक पर्यटक दसैं तिहारबीचमा आउँछन्।
आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेसँगै लोमन्थाङमा होटल व्यवसायको संख्या पनि बढेको छ। होटल व्यवसायी समितिका अनुसार लोमन्थाङमा ३० लाखदेखि २० करोडसम्म लगानीका ३० वटा होटल छन्। यी होटलमा २ सय २८ कोठामा ५ सय बड छन्। यो वर्ष ५० कोठा थप हुँदैछन्। छोसेर र छोनुपमा १२ तथा चराङ र घमीमा पनि १५ बढी होटल छन्।









