केन्द्र अनि राज्य सरकारले मिलेर कृषकहरूको हितमा काम गरिरहेको छः राज्यपाल

n53781672216947114916758c6ee678b9a52e6d06095c6f656a37100206d9a9090f82516bc11e7d1f3e7bf6.jpg

नाम्ची: नाम्ची जिल्लाअन्तर्गत अप्पर सदामको सयपत्री संघले आज आफ्नो स्थापना दिवस भव्य रूपमा पालन गऱ्यो। कार्यक्रममा राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथि रहेका थिए।

जैविक कृषिलाई प्रोत्साहन गर्न मुख्य उद्देश्यका साथ आयोजित कार्यक्रम अवधि राज्यपालले रविटार माङघिम गाउँका प्रगतिशील कृषकहरूको माछा पोखरी र बारीको भ्रमण गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै राज्यपाल आचार्यले केन्द्र अनि राज्य सरकारले मिलेर कृषकहरूको हितमा काम गरिरहेको बताए। केन्द्र सरकारका कृषि सम्बन्धित योजनाहरू विषय जानकारी गराउँदै उनले कृषिद्वारा आत्मनिर्भर बन्दै गइरहेको गाउँमा आउन पाउॅंदा खुशी लागेको बताए।

जुनै पेशा अपनाए पनि देश र जनतालाई लाभ पुग्ने काम गर्नुपर्छ भन्दै उनले देशको भविष्य विद्यार्थीहरूमाथि निर्भर रहेको बताए। उनले सुन्दर राज्य सिक्किमलाई अझ सुन्दर बनाउन आ-आफ्नो जिम्मावारी निर्वाह गर्ने अनुरोध गरे। कृषकगणको भलाईका लागि काम गर्न आयोजक संघलाई एक लाख पचास हजार प्रदान गर्ने पनि उनले घोषणा गरे।

कार्यक्रममा कृषि मन्त्री एलएन शर्मा, सयपत्री संघका अध्यक्ष वीरबल छेत्री आदिले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा स्थानीय कृषकगणलाई कृषि लोन, कृषि उपकरणहरू पनि प्रदान गरिएको थियो। कार्यक्रममा आयोजक संघले राज्यपाललाई अभिनन्दन जनायो।

कार्यक्रममा साँस्कृतिक नृत्य आदि पनि प्रस्तुत गरिएको थियो। अर्चना प्रधानले सञ्चालन गरेको यस कार्यक्रममा एसकेएम पार्टीका उपाध्यक्ष तिलक बस्नेतले स्वागत भाषण र सीएलसी अध्यक्ष दिलकुमारी छेत्रीले धन्यवाद ज्ञापन राखेकी थिइन्। कार्यक्रममा विधायक फर्वन्ती तामाङ, विधायक वाईटी लेप्चा, जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिम, जिल्लापाल एम भरणी कुमार आदिको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement