दुई दिने औपचारिक भ्रमणका लागि सिक्किम प्रस्थान, ‘राज्य अतिथि’ घोषित
सिलगढी: भारत सरकारकी सूक्ष्म, लघु एवं मध्यम उद्यम (एमएसएमई) अनि श्रम र रोजगार केन्द्रीय राज्यमन्त्री माननीय सुश्री शोभा करन्दलाजे आज बागडोगरा विमानस्थलमा आइपुग्नुभएको छ।
केन्द्रीय राज्यमन्त्री करन्दलाजे १६ देखि १७ जून २०२६ सम्म सिक्किमको दुई दिने औपचारिक भ्रमणमा आउनुभएको हो। यस भ्रमणका क्रममा उहाँ राजधानी गान्तोकमा आयोजना हुने विभिन्न आधिकारिक कार्यक्रमहरू र बैठकहरूमा सहभागी हुनुहुने कार्यतालिका रहेको छ। सिक्किम सरकारले उहाँलाई यस भ्रमणका अवधिमा ‘राज्य अतिथि’ को रूपमा घोषणा गरेको छ।
आज बागडोगरा विमानस्थलमा उहाँ अवतरण हुनासाथै सिक्किम सरकारको तर्फबाट गृह विभाग (बागडोगरा युनिट)-की अतिरिक्त सचिव एवं प्रोटोकल अधिकारी सुश्री शर्मिष्ठा प्रधानले उहाँलाई न्यानो स्वागत जनाउनुभयो। सो अवसरमा वाणिज्य एवं उद्योग विभागकी संयुक्त आयुक्त तथा सम्पर्क अधिकारी सुश्री छोदेन गेन्सापा लगायत गृह विभागका अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
बागडोगरामा भव्य स्वागत गरिएपछि केन्द्रीय राज्यमन्त्री करन्दलाजे आफ्नो दुई दिने व्यस्त कार्यतालिकाका लागि गान्तोक प्रस्थान हुनुभएको छ। उहाँको यस भ्रमणले सिक्किममा सूक्ष्म, लघु एवं मध्यम उद्यम (एमएसएमई) र रोजगारका क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ।









