केन्द्र सरकारका १२ वर्षका उपलब्धिहरूमाथि मन्थन
गान्तोक: भारत सरकारकी सूक्ष्म, लघु एवं मध्यम उद्यम (एमएसएमई) अनि श्रम र रोजगार राज्यमन्त्री शोभा करन्दलाजेको गरिमामय उपस्थितिमा आज गान्तोकको एक स्थानीय होटलमा ‘मिडिया एन्ड इन्टेलेक्चुअल कन्क्लेभ’ (सञ्चारकर्मी तथा बुद्धिजीवी सम्मेलन) भव्य रूपमा सम्पन्न भएको छ। सूचना एवं जनसम्पर्क विभाग (आईपीआर) को सौजन्यमा आयोजित यस सम्मेलनमा राज्यका बुद्धिजीवी, पत्रकार र विभिन्न क्षेत्रका प्रबुद्ध वर्गको ठूलो सहभागिता रहेको थियो।
सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रिय राज्यमन्त्री शोभा करन्दलाजेले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा केन्द्र सरकारले विगत १२ वर्षमा गरेका विभिन्न जनकल्याणकारी नीति र ऐतिहासिक पहलहरूमाथि विस्तृत प्रकाश पारिन्। उनले केन्द्र सरकारको पूर्ण सहयोगमा सिक्किम राज्यमा लागू भइरहेका विभिन्न प्रमुख (फ्ल्यागसिप) कार्यक्रमहरूको चर्चा गर्दै ‘विकसित भारत २०४७’ को परिकल्पना र उद्देश्यबारे अवगत गराइन्। देशलाई समावेशी र दिगो विकासको मार्गमा अघि बढाउन यस अभियानको भूमिका महत्त्वपूर्ण रहने उनले बताइन्।
आफ्नो सम्बोधनमा केन्द्रिय राज्यमन्त्रीले सिक्किमको निर्यात क्षमता (एक्सपोर्ट पोटेन्सियल) माथि विशेष जोड दिइन्। सिक्किमका बहुमूल्य जडीबुटी (औषधीय बोटबिरुवा), जैविक खेती (अर्गानिक फार्मिङ) र अर्किड खेती जस्ता क्षेत्रहरूलाई प्रवर्द्धन गर्न केन्द्र सरकार प्रतिबद्ध रहेको जनाउँदै उनले यी स्थानीय उत्पादनहरूलाई देश-विदेशका बजारहरूसम्म पुर्याउन यातायात व्यवस्था र बजार पहुँच (मार्केट एक्सेस) लाई अझ सुदृढ बनाउने कार्य भइरहेको जानकारी दिइन्।
यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विगत १२ वर्षमा हासिल भएका उपलब्धि र विकास कार्यहरूमा आधारित एउटा वृत्तचित्र (भिडियो प्रस्तुति) पनि प्रदर्शन गरिएको थियो। ‘१२ साल, विश्वास को, विकास को, जनकल्याण को’ थिममा आधारित उक्त भिडियोले उपस्थित सबैको ध्यान आकर्षित गरेको थियो।
यस गरिमामय सम्मेलनमा राज्यका ग्रामीण विकास (आरडीडी) एवं सहकारिता विभागका मन्त्री अरुण उप्रेती र भाजपा सिक्किम प्रदेश अध्यक्ष डी.आर. थापाको विशेष उपस्थिति रहेको थियो। यसका साथै स्थानीय उद्यमी, शिक्षाविद्, स्वयं सहायता समूह (एसएचजी) का प्रतिनिधि, विद्यार्थी वर्ग र अन्य प्रतिष्ठित व्यक्तित्वहरूको पनि बाक्लो उपस्थिति थियो।
कार्यक्रमको प्रारम्भमा निरेन भण्डारीले उपस्थित सबैलाई स्वागत सम्बोधनद्वारा स्वागत गरेका थिए भने कार्यक्रमको समापनमा साङ्गे ग्यात्सो भोटियाले धन्यवाद ज्ञापन प्रकट गरे।











