कुचबिहारबाट विमानमार्फत् कोलकाता जान मात्र ९९९ रुपियाँ

IMG_20230204_192935.png

कुचबिहार: कुचबिहारबाट विमानमार्फत् कोलकता जान केवल ९९९ मात्र खर्च गर्न पर्नेछ । यो परिसेवा आगामी १५ फरवरीदेखि शुरू हुनेछ। केन्द्रीय गृह राज्यमन्त्री निशीथ प्रमाणिकले हिजो कुचबिहार हवाई अड्डाको निरीक्षण गरेपछि यस प्रकारको जानकारी दिएका छन्। तथापि, पछि विमान संस्थाको निर्धारित भाडा अनुसार विमान परिसेवा सञ्चालित हुनेछ। कुचबिहारका राजाहरूको समयमा सबैभन्दा पहिला हवाई सेवा कुचबिहारमै शुरू गरिएको थियो। पछि कुचबिहारमा लामो समयसम्म हवाई सेवा बन्द गरिदिएको थियो। राज्यमा नयाँ सरकार आएपछि २०११ देखि फेरि हवाई सेवा शुरू गरियो। त्यस समय हवाई सेवा ११ दिनसम्म खोलियो। तर पछि धेरैपल्ट हवाई सेवा शुरू गरे तापनि उक्त परिसेवा चलेन। यसै बीच गत लोकसभा चुनाउभन्दा अधि कुचबिहारबाट भाजपा सांसद बनेपछि सांसदले हवाई परिसेवा शुरू गर्ने वाचा गरेका थिए। सांसद चयन भएपछि तिनले कुचबिहार हवाई अड्डाबाट फेरि विमान परिसेवा शुरू गर्ने घोषणा गरेका थिए। सांसदको उक्त घोषणापछि केही असुविधाहरू देखापऱ्यो। कुचबिहार हवाई अड्डाबाट राज्य सरकारले सुरक्षा तथा फायर ब्रिगेड हटाइदिएपछि कुचबिहार हवाई अड्डालाई बन्द गरिदियो। यसपछि कुचबिहार हवाई अड्डा लामो समयसम्म बन्द रह्यो। हालै केन्द्र सरकारले उड़ान परियोजना अन्तर्गत कुचबिहार हवाई अड्डाबाट फेरि यात्री सेवा शुरू गर्ने पहल गरेको छ यसैले केन्द्रीय गृह राज्यमन्त्री निशीथ प्रमाणिकले हिजो कुचबिहार हवाईअड्डाको निरीक्षण गर्नको साथै विमान संस्थाका प्रतिनिधिहरू लगायत हवाईअड्डाका अधिकारीहरूसित एउटा बैठक पनि गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले आगामी १५ फरवरीदेखि कुचबिहार-कोलकाता विमान सेवा शुरू गरिने जानकारी गराए।

About Author

Advertisement