कास्य पदक विजेता सोनिया सुब्बालाई मेल्लीमा भव्य स्वागत र अभिनन्दन

FB_IMG_1783100922352

​नाम्ची: पञ्जाबको जालन्धरमा गत जुन १९ देखि २९ सम्म आयोजित पाँचौँ राष्ट्रिय यू-१५ सब-जुनियर ब्वाइज एन्ड गर्ल्स बक्सिङ च्याम्पियनसिप २०२६ मा कास्य पदक जितेर राज्यको गौरव बढाउनुभएकी खेलाडी सुश्री सोनिया सुब्बा स्वदेश फर्किएपछि मेल्ली जाँचचौकीमा भव्य स्वागत गरिएको छ। सोरेङ-चाकुङ क्षेत्रका माननीय विधायक श्री आदित्य गोले ज्यूले उहाँलाई न्यानो स्वागत तथा बधाई ज्ञापन गर्नुभएको हो। सोरेङ जिल्ला बक्सिङ संघ र सिक्किम एमेच्योर बक्सिङ संघको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा खेलाडी सोनियाका साथै खेल्लो इन्डिया सेन्टर सोरेङका प्रशिक्षक श्री सुमन लेप्चा, प्रशिक्षार्थी सुश्री अर्पना लेप्चा र गान्तोकको खेल्लो इन्डिया स्टेट सेन्टर अफ एक्सीलेन्समा उन्नत प्रशिक्षण लिइरहेकी पूर्व प्रशिक्षार्थी सुश्री दिपु भगतलाई पनि अभिनन्दन गरिएको थियो।
​कार्यक्रमलाई सम्बोधन गर्दै विधायक श्री आदित्य गोलेले पदक विजेता सोनिया सुब्बासहित सबै सहभागी बक्सर, प्रशिक्षक र उनीहरूका परिवारलाई दृढ समर्पण र परिश्रमका लागि बधाई दिनुभयो। उहाँले कुनै पनि सफलता एक्लो प्रयासले नभई प्रशिक्षक, परिवार, खेलकुद संघ र समुदायको सामूहिक सहयोगबाट मात्र सम्भव हुने उल्लेख गर्दै टोली कार्यको महत्त्वमा जोड दिनुभयो। सोरेङ जिल्लामा युवा बक्सरहरूको सीप विकासका लागि खर्पानेमा बर्सेनि सञ्चालन गरिने हिउँदे बक्सिङ प्रशिक्षण शिविरको चर्चा गर्दै उहाँले राज्य सरकार खेलाडीहरूको सपना साकार पार्न हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको आश्वासन दिनुभयो। सिक्किम एमेच्योर बक्सिङ संघका अध्यक्ष एवं अर्जुन पुरस्कार विजेता श्री जशलाल प्रधानले सोनियाका मातापितालाई उनीहरूको निरन्तर सहयोगका लागि धन्यवाद दिँदै मुख्यमन्त्री श्री प्रेमसिंह गोले ज्यूप्रति राज्यमा खेलकुद विकासका लागि पुर्‍याउनुभएको योगदानप्रति आभार व्यक्त गर्नुभयो। उहाँले बक्सिङ खेलले प्रतिस्पर्धात्मक भावना मात्र नभई आत्मरक्षाको सीप पनि सिकाउने भएकाले अभिभावकहरूलाई आफ्ना बालकालिकाको इच्छा र समग्र विकासका लागि पढाइसँगै खेलकुदलाई पनि सन्तुलनमा राख्न प्रोत्साहन गर्न आग्रह गर्नुभयो।
​सोरेङ जिल्लाको पेगा गाउँ, खोपी खर्क निवासी मङ्गल सुब्बा र सुस्मिता क्षेत्रीकी सुपुत्री सोनिया सुब्बाले प्रशिक्षक सुमन लेप्चाको रेखदेखमा ३३ केजी तौल समूहमा यो ऐतिहासिक कास्य पदक प्राप्त गर्नुभएको हो। ६ महिना अघिसम्म सोरेङको खेल्लो इन्डिया सेन्टरमा प्रशिक्षण लिइरहेकी सोनियाले गत जनवरी २०२६ मा भएको राज्यस्तरीय बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि गान्तोकको रेसिथाङस्थित स्टेट सेन्टर अफ एक्सीलेन्समा उन्नत प्रशिक्षणका लागि छनोट हुनुभएको थियो। उहाँको यस अभूतपूर्व उपलब्धिको कदर गर्दै मङ्सारी मङ्गेरजुङ जीपीयूले उहाँलाई मायाको चिनो प्रदान गरेको थियो। कार्यक्रममा आईटीएसका उपाध्यक्ष श्री सीपी शर्मा, सूचना तथा जनसम्पर्क विभागका सल्लाहकार श्री सुकबहादुर सुब्बा, राज्य खेलकुद विकास बोर्डका अध्यक्ष श्री रिन्जिङ वाङ्गेल छोपेल, खेलकुद विभागकी उप-निर्देशक सुश्री ममिता गुरुङ, सोरेङका जिल्ला योजना अधिकारी श्री कुमार सुब्बा, विभिन्न जिल्लाका बक्सिङ संघका पदाधिकारीहरू, अभिभावक तथा विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थिति रहेको थियो।

About Author

Advertisement