कालेबुङ: टिस्टा नदीको बाढले धेरैजसो घरहरू बगाएर लैजानको साथै कतिपय गाउँहरू नै खोलाको बलुवाले पुरिदिएकोले गर्दा हाल ती इलाकाहरूमा साफ सफाई तथा पुर्निनिर्माणको कार्य युद्धस्तरमा जारी रहेको छ। यसै क्रममा टिस्टा नदीको तट इलाकास्थित रम्फूमा पनि धेरैवटा घरहरू बगाएर लैजानको साथै सम्पूर्ण एउटा गाउँ नै बलुवाले पुरिएपछि त्यहाँको सफाई गरिने कार्य जीटीए चिफ अनित थापाको विशेष देखरेखमा हाल लगातार चलिरहेको छ। यसैले आज कालेबुङ नगरपालिकाका चेयरम्यान रवि प्रधानको नेतृत्वमा नगरपालिकाका कर्मचारीहरू रम्फू पुगेर बाढ प्रभावित इलाकाको घरहरूको सर सफाई साथै पुनःस्थापनाको कार्य गरे। यस अवसरमा नगरपालिकाका कर्मचारीहरूले आज बिहानैदेखि रम्फू इलाकामा सफाई कार्य गरिरहेका छन्। यसको साथै सफाई कार्यमा मच्छर मार्नको निम्ति मसिनको सहयोगमा धुवाँ पनि लगाइयो। सफाई कार्यस्थलमा कालेबुङ नगरपालिका चेयरम्यान रवि प्रधानले बताएअनुसार बाढ पीडितहरूलाई हाल जीटीएको सत्तारूढ पार्टीका विभिन्न भातृ संगठनहरू लगायत विभिन्न संघ-संस्थाहरूले तिनीहरूको घर सर-सफाई तथा पुनःस्थापनाको निम्ति सहयोग गरिरहेका छन् भने आज कालेबुङ नगरपालिकाको तर्फबाट पनि कर्मचारीहरूले सफाई कार्य गरिरहेको बताए। तिनले बाढ पीडितहरूको सहयोगमा सबैलाई अघि आइदिने पनि अपील गरे।









