कालचिनी: अब उपचारका लागि कालचिनी ब्लकका स्थानीयवासीले टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने भएको छ। ब्लकको एकमात्र ग्रामीण अस्पताल उत्तरी लताबाडी ग्रामीण अस्पताललाई स्तरोन्नति गरी थप सुविधासम्पन्न बनाउने पहल अघि बढाइएको छ।
अस्पतालमा शय्या संख्या बढाउनुका साथै विभिन्न स्वास्थ्य परीक्षण सेवा तथा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने योजना रहेको छ। अस्पतालको निरीक्षणपछि राज्यका गृह राज्यमन्त्री तथा कालचिनीका विधायक विशाल लामाले यस्तो जानकारी दिएका हुन्।
कालचिनी ब्लकअन्तर्गत रहेका २३ वटा चिया बगान तथा ११ वटा ग्राम पञ्चायत क्षेत्रका बासिन्दाका लागि उत्तरी लताबाडी ग्रामीण अस्पताल उपचारको प्रमुख आधार हो। दैनिक विभिन्न क्षेत्रबाट ठूलो संख्यामा बिरामी उपचारका लागि यहाँ आउने गरेका छन्। तर, लामो समयदेखि अस्पतालको पूर्वाधार तथा स्वास्थ्य सेवासम्बन्धी विभिन्न समस्या रहेको गुनासो हुँदै आएको छ।
विशेषगरी शय्या संख्या सीमित हुँदा धेरै बिरामीलाई थप उपचारका लागि अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गर्नुपर्ने अवस्था रहेको छ। यसका कारण दुर्गम क्षेत्रका बिरामी तथा उनीहरूका आफन्तले थप कठिनाइ भोग्नुपरेको छ।
अस्पताल निरीक्षणपछि मन्त्री विशाल लामाले उत्तरी लताबाडी अस्पतालको पूर्वाधार विकासका विषयमा स्वास्थ्य विभाग तथा सम्बन्धित मन्त्रीसँग यसअघि नै छलफल भइसकेको बताए। अस्पताललाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रस्ताव स्वीकृत भइसकेको पनि उनले जानकारी दिए।
शय्या संख्या बढाउनुका साथै आगामी दिनमा अस्पतालमा एक्स–रेसहित विभिन्न स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने योजना रहेको मन्त्री लामाले बताए। साथै, स्त्रीरोग विशेषज्ञ चिकित्सक (गाइनोकोलोजिस्ट) नियुक्तिका लागि समेत प्रक्रिया अघि बढिरहेको उनको भनाइ छ।
मन्त्री लामाका अनुसार अस्पतालको उपचार सेवा तथा पूर्वाधारलाई चरणबद्ध रूपमा विस्तार गरिनेछ। यसबाट कालचिनी ब्लकका सर्वसाधारणले आफ्नै क्षेत्रमा थप गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। साथै, सामान्य उपचारका लागि समेत टाढाका अस्पतालमा जानुपर्ने प्रवृत्ति कम हुने विश्वास गरिएको छ।
उत्तरी लताबाडी अस्पतालको स्तरोन्नति र सेवा विस्तारको पहलले कालचिनी ब्लकका विस्तृत क्षेत्रका स्थानीयवासीमा भने आशा जगाएको छ।





