कालचिनीमा शुरु भयो गोर्खा माघे मिलन उत्सव

394a2b94-6195-4eed-860f-55e70c649e3d

कालचिनीः गोर्खा जातगोष्ठीका सांस्कृतिक धरोहरको संरक्षण तथा विविध भाषा, संस्कृति र मौलिक परम्परालाई एकसुत्रमा ल्याउन कालचिनीस्थित बक्सा क्लब मैदानमा शुक्रबारदेखि दुई दिवसीय गोर्खा माघे मिलन उत्सव शुरू भएको छ। शुक्रबार अपरान्ह समय प्रथमत गोर्खा समाजको विभिन्न जातगोष्ठीहरू, कामी, दमाई,सार्की, खस, गुरुङ, तामाङ, मगर, नेवार, राई, लिम्बु, शेर्पा, भुजेल एवम् अन्यान्य जातीय भेषभूषामा सजिएर शोभायात्रा निकालिएको थियो। शोभायात्रा कार्यक्रम स्थलदेखि कालचिनी कारगिल चौक हुँदै पुनः बक्सा क्लब मैदानमा आएर समापन गरिएको थियो।
आज प्रथम दिनमा साँझ डुवर्सको लिजेन्ड्री नेपाली गायक इन्द्रजीत मिजार, दुईकन्ठे गायक फौदासिंह गुरुङ, द भोइस किड्सका सेमी फाइनलिस्ट बाल गायिका प्रार्थना गुरुङ एवम् अन्यान्य कलाकारहरूले प्रदर्शन गर्ने आयोजक कमिटीको पक्षबाट जानकारी गराइएको छ। यसबाहेक मिलन उत्सवमा गोर्खा समाजको विभिन्न जातगोष्ठीहरूको रंगारंग स्टल रहेको र सो स्टलहरूमा गोर्खा जातीय पकवान र भेषभूषाहरू बिक्री तथा प्रदर्शनीमा राखिएको बताइएको छ। शोभायात्रा पश्चात सम्पूर्ण जातगोष्ठीका सांस्कृतिक टोलीले आ-आफ्नो जातीय गीत र नृत्यहरू प्रस्तुत गरेको र भोलि शनिबार साँझ सांस्कृतिक अनि विविध कार्यक्रमहरूसँगै उत्सवको समापन हुने आयोजक कमिटीको पक्षबाट अध्यक्ष शरण लामा र सचिव चन्दन भट्टराईले जनाएका छन्।

About Author

Advertisement