कालचिनी: पश्चिम बङ्गाल सरकार हार्टिकल्चर विभागको पहलमा २२ अगस्तदेखि प्रत्येक जिल्ला साथै ब्लकहरुमा बागवानी सप्ताह पालन गरिरहेको क्रममा मङ्गलबार कालचिनी बीडीओ कार्यालयको मनरेगा हलमा कालचिनी खण्डको एफपीसी र एसएचजी समूहलाई लिएर बागवानी सप्ताह पालन गरिएको जानकारी हार्टिकल्चर विभागको अलिपुरद्वार जिल्ला डेपुटी डाइरेक्टर सुरपति मण्डलले दिएका छन्। उक्त अवसरमा हार्टिकल्चर विभागको डेपुटी डाइरेक्टर सुरपति मण्डल, एसिस्टेन्ट डाइरेक्टर तनुश्री साह, कालचिनी बीडीओ एवं अन्यान्य नोडल अधिकारीहरुको उपस्थिति रहेको थियो।
यस क्रममा डुवर्स एग्रो फार्मर्स प्रोड्युसर कम्पनी लिमिटेडको निर्देशक विनय नार्जीनारी, छबि फार्मर्स प्रोड्युसर कम्पनी लिमिटेडको निर्देशक डालिम राभा, घनश्याम छेत्री एवं अन्यान्यको उपस्थिति रहेको थियो। बागवानी सप्ताहअन्तर्गत किसान औ यससित सम्बन्धित फार्मर्स प्रोड्युसर कम्पनी लिमिटेडको निर्देशक र सदस्यहरुलाई लिएर अन्तरक्रिया गरिएको र यसै अवसरमा डुवर्स एग्रो फार्मर्स प्रोड्युसर कम्पनी लिमिटेडको निर्देशक विनय नार्जीनारीले एफपीसीद्वारा निर्मित अचार र हर्दी हार्टिकल्चर विभागको अधिकारीहरुलाई भेट दिएको थियो। बागवानी सप्ताहको कार्यक्रम आउँदो २७ अगस्तसम्म जिल्लाको ६ वटै ब्लकहरुमा पालन गरिने हार्टिकल्चर विभागको अलिपुरद्वार जिल्ला डेपुटी डाइरेक्टर सुरपति मण्डलले थप जनाएका छन्।











