कवि लेकनाथ खालिङद्वारा लिखित कविता सङ्ग्रह ‘हेन्खामा’ को लोकार्पण

IMG-20260622-WA0086

लेकनाथ खालिङ एक सशक्त र अध्ययनशील व्यक्ति हुन्: पारसचन्द्र आले

खरसाङ: खरसाङमा कवि लेकनाथ खालिङद्वारा लिखित पहिलो कविता सङ्ग्रह ‘हेन्खामा’ को लोकार्पण सम्पन्न भएको छ। खरसाङको गोर्खा जनपुस्तकालय भवनको डा पारसमणि प्रधान प्रेक्षागृह‌ा सम्पन्न लोकार्पण कार्यक्रममा सभाध्यक्षको रुपमा आकाशवाणी खरसाङका पूर्व कार्यक्रम प्रमुख पारसचन्द्र आले उपस्थित रहेका थिए भने प्रमुख अतिथिको रुपमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या एंव गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा‌ आशा मुखिया लामा उपस्थित रहेका थिए। कवि एवं पत्रकार हनोक थापाले सञ्चालन गरेको कार्यक्रममा कवि लेकनाथ खालिङद्वारा लिखित पहिलो कविता सङ्ग्रह ‘हेन्खामा’ को सभाध्यक्ष पारसचन्द्र आले, प्रमुख अतिथि आशा मुखिया लामा, विशिष्ट अतिथिहरु क्रमैले आकाशवाणी खरसाङको कार्यक्रम सह निर्देशक राजीव सुब्बा, समाजसेवी तिलक शर्मा, गोर्खा जनपुस्तकालयको उपाध्यक्ष प्रकाश प्रधान, लालिमा परिवारका सभापति डीबी मंगर, साहित्यकार दिपक ठटाल ‘जलन’, खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङ, आकाशवाणी खरसाङको कार्यक्रम निष्पादकहरु क्रमैले मनन तामाङ, मिङमा दोर्जे लामा, योजना मोहोरा र कवि लेकनाथ खालिङ आदिको बाहुलीबाट लोकार्पण गरिएको छ। कार्यक्रममा पुस्तक लोकार्पणको घोषणा प्रमुख अतिथि आशा मुखिया लामाले गरेकी थिइन्। कार्यक्रममा लोकार्पण गरिएको पुस्तक ‘हेन्खामा’ माथि साहित्यकार एवं प्राध्यापक डीबी मंगरले समीक्षात्मक टिप्पणी राखेका थिए। उनले आफ्नो टिप्पणीमा लोकनाथ खालिङको कवितामा मुन्धुमीय दर्शन रहेको र मुन्धुम अनुसार हेन्खामाको अर्थ धरती रहेको बताएका छन्‌। उनले टिप्पणी राख्दै भने, हेन्खामा कविता सङ्ग्रहमा पुर्खाहरुले सिँचेको कथ्य खुलेर आएको छ। यो कविताहरुमा परम्परागत विषय र वर्तमान विषयका कुराहरु पाउँछौं। कवि लेकनाथले काव्यात्मक बाटो हिँड्ने प्रयास गरेका छन्। किराँती संस्कृति र प्रकृतिसितको दर्शन कवितामा प्रस्तुत गरेका छन्।’
डीबी मंगरले अघि भने, मानिस र प्रकृतिको सन्तुलन मिलाउन पारिस्थितिकीय चेतना कवितामा दिन खोजेका छन्। किराँती संस्कारका विम्वहरु कवितामा पाउँछौं।’ उनले कविलाई सुझाव राख्दै भने, कवितामा विचार पक्ष हाबी भएका छन्। कतिपय कविताहरु विवरणात्मक छन्। कवि लेकनाथमा कविको सम्भावना धेरै छन् अनि उनमा भएको कविको चिल्काहरु भविष्यमा स्पष्ट रुपमा देखा पर्न आशा गर्न सकिन्छ।’

कार्यक्रममा कवि लेकनाथ राईले कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गर्दै आफ्नो लोकार्पण गरिएको पुस्तकबाट दुईवटा कविता वाचन गरेका थिए। उनले कार्यक्रममा आफ्नो कवितामाथि राखिएको टिप्पणीलाई ध्यानमा राखेर अघि बढ्ने र कवि बन्न कोशिष गर्ने बताए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित आशा मुखिया लामाले आफ्नो सम्बोधनमा हामीले हाम्रो लेखद्वारा समाजमा रहेका संस्कार, संस्कृति, हाम्रो अभिव्यक्ति, हाम्रो संवेग, समाजको विसंगतिहरु, अन्यायहरु आफ्नो रचना द्वारा लेख्नुपर्छ भनी बताइन्। उनले संस्कृति संरक्षणको माध्यमबाट समाजलई अघि बढाउनुपर्छ भनी बताइन्। कार्यक्रममा सभाध्यक्ष पारसचन्द्र आलेले लेकनाथजीले पर्यावरण, संस्कृति संरक्षणको कविता लेखेका जुन स्थायी हो भनी बताएका छन्। उनले कवि लेकनाथ धेरै पढ्ने र लेख्ने व्यक्ति रहेको बताउँदै उनी एक सशक्त र अध्ययनशील व्यक्ति रहेको बताए। यस कार्यक्रममा गजलगोहरु क्रमैले अरुण साम्पाङ, सुवास श्रेष्ठ, धिरेन संघर्ष, सुवास छेत्री भावुक, दिपक ठटाल ‘जलन’ आदिले गजल वाचन गरेका थिए।‌ त्यसरी नै कविहरु क्रमैेले बालकृष्ण थामी, उमेश कार्कीढोली, आरती ठकुरी, सुशान्त मोक्तान, बिनिता लामा आदिले कविता वाचन गरेका थिए। कवि लेकनाथ खालिङ कालेबुङको धजे निवासी हुन् भने आकाशवाणी खरसाङमा कार्यरत् छन्। उनले कालेबुङका लालिमा प्रकाशनबाट आफ्नो पहिलो कविता सङ्ग्रह ‘हेन्खामा’ प्रकाशित गराएका छन्। लोकार्पण कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै कवि लेकनाथ खालिङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement