कवि एनएल कपिल रटनको साहित्यिक रचना स्मृतिपथ लोकार्पण

n5617916601701538408073eaae24c9b24167ddae8f8d92e91668b57fa9b62af57a40e091882a2013da79c9.jpg

गान्तोक: सिक्किममा लामो समयसम्म साहित्य लेखन र लोक वाद्य बाँसुरी वादकको रूपमा परिचित एनएल कपिल रटनले आफ्नो जीवनकालमा रचेका साहित्यिक रचनाहरूको सँगालो स्मृतिपथको विधिवत लोकार्पण गरिएको छ।

नेपाली साहित्य परिषद गान्तोकमा आयोजित लोकार्पण कार्यक्रममा सिक्किम अकादमीका सचिव पूर्ण योञ्जनले अध्यक्षता गरेका थिए भने परिषद्का अध्यक्ष हरि ढुङ्गेल मुख्य अतिथिको रूपमा उपस्थित थिए।

भक्ति शर्माले स्वागत सम्बोधन राखेर शुरु गरिएक कार्यक्रममा कविचन्द्र खड्का, खुसेन तिम्सिना तागासी, राधा पाण्डे र सुरेखा ढुङ्गेलले कविता र गजल वाचन गरेका थिए। स्वर्गीय कपिलको सर्वप्रिय वाद्य बाँसुरीलाई सम्झाना गर्दै प्रणेश मगरले बाँसुरीको धुन सुनाएर उनलाई सम्मान जनाएका थिए। कवि कपिलका धर्मपत्नी प्रेमज्योती लामाले सबै साहित्यिक रचनाहरू सङ्कलन गरेर प्रकाशन गरेकी हुन्।

दक्षिण सिक्किमको सुम्बुक बस्तीमा जन्मिएका स्वर्गीय कपिलले आफ्नो जीवनकालमा पनि दुइवटा पुस्तक जिन्दगीको यात्रा कहाँ रोकूँ र आँखाबरि जिन्दगी विविध सङ्ग्रहको रूपमा प्रकाशित गरेका थिए भने मृत्युपर्यन्त स्मृतिपथ नाममा विविध साहित्यिक रचनाहरू सङ्कलनको रूपमा पाठक अघि आएको छ। नाट्यकर्मी बिक्रम गौतमले कवि तथा बाँसुरीवादक कपिलको जीवनी र उनीसितको संसर्गले छाडिगएका सम्झनाहरूलाई मर्मान्त ढङ्गमा प्रस्तुत गर्दै बाल्यकालदेखि अन्तकालसम्मको जानकारी राखेका थिए।

कार्यक्रममा पुस्तकबारे कल्याणी शर्माले टिप्पणी प्रस्तुत गरेर किताबको सबै पक्षलाई उज्यालो दिने प्रयास गरेकी थिइन्। सभाध्यक्ष योञ्जनले साहित्यिक व्यक्तित्व कपिललाई सम्झना गर्दै उनको योगदानबारे आफ्नो मन्तव्य राखे। यसैगरि मुख्य अथिति ढुङ्गेलले साहित्यिकार र सङ्गीतकर्मी कपिलको कार्यको सम्झना गर्दै उनको योगदानले उनी बाँचिरहने कुरालाई अगि सारे। कवि साहित्यकार रत्न लक्समले धन्यवाद ज्ञापन गरेको कार्यक्रमलाई उद्घोषिका पुनम लकान्द्रीले सञ्चालन गरेकी थिइन्।

About Author

Advertisement