जमीनको सर्भे चाँडै सुरु गरिने
खरसाङ: खरसाङको गिध्द पहाड़स्थति सर्किट हाउसमा बसेको सबै ट्रेड युनियनको बैठक सौहार्द पूर्ण रूपमा सम्पन्न भयो। याे बैठक कमानबासीको निम्ति निस्किएको जमीनको सर्भेमाथिको नोटिफिकेसनमाथि छलफल गरेर कार्य गर्ने निणर्य लिनु जीटीएले डाकेको थियो। आजको सभामा पहाडका सम्पूर्ण ट्रेड युनियनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। जीटीएलाई प्रतिनिधित्व गर्दै सोनाम भुटिया, ईडी, सामदेन् भुटिया, ईडी, अरिजित मिश्र, ओएसडि, भूमि अनि भूमि सुधार विभागका एडीएम राम तामाङको पनि उपस्थिति रहेको थियो।
जसको जे जति जमीन छ ती सबै जमीनको पट्टा पाउनु अघि सर्भे हुनु आवश्यक छ भन्ने कुरामा सबै ट्रेड युनियनले आफ्नो सहमति जनाएका छन्। त्यसै सहमतिको आधारमा कमानवासीको जमीन सर्भे गराउने पक्षमा सबै ट्रेड युनियनले एकमत देखाएको बताइएको छ। अब चाँडै नै कमानवासीको जमीनको सर्भे सुरु हुनेछ। यस विषयमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले भने, मैले बारम्बार भन्दै आएको छु कि जमीनको मुद्दा हाम्रो अधिकारको मात्र मुद्दा नभएर हाम्रो जातिको मुद्दा हो। जातिको मुद्दामा कार्य गर्दा हामीले राजनीतिदेखि माथि उक्लेर नै काम गर्नुपर्छ। आजको बैठकले यही प्रमाण गर्यो कि जातिभन्दा राजनीति ठूलो होइन।’
उनले भने, आज उपस्थित रहेर सकरात्मक बहसमा भाग लिएर सुझाव राखिदिनु हुने सम्पूर्ण ट्रेडका नेतृत्वहरुलाई धन्यवाद। हाम्रो सामूहिक आवाजले श्रमिकको आवाज बोकेको होस्।’










