कतर गएर विश्व कपको म्याच हेर्न हया कार्ड (Hayya Card) जरूरी

३० अगस्तः फीफा विश्व कप २०२२-को आयोजन कतरमा हुनेछ। कतर सरकारले विश्व कपका म्याचहरू हेर्न आउने दर्शकहरूका निम्ति एउटा खास कार्ड जारी गरेको छ। त्यस कार्डको नाम हो हया कार्ड (Hayya Card)। यसलाई फ्यान आईडी पनि भन्न सकिन्छ। यो कतर सरकारको तर्फबाट जारी एक थरीको दस्तावेज हो। फीफा विश्व कपको कुनै पनि म्याच स्टेडियममा हेर्न यो कार्ड जरूरी हुनेछ। यो कार्ड र म्याचको टिकट भए मात्र दर्शकहरूले स्टेडियममा प्रवेश गर्ने अनुमति पाउनेछन्। यसरी नै हरेक म्याचको निम्ति अलग हया कार्डको चाहिँ आवश्यकता पर्नेछैन। एउटै कार्ड सबै म्याचहरूका निम्ति मान्य हुनेछ।
कतर सरकारले बताएअनुसार, हया कार्ड हुने दर्शकहरूले एउटा खास भीजाको निम्ति आवेदन गर्न सक्छन्। यसको सहायताले ६० दिनसम्म कतरमा बस्न सकिनेछ। यसको समयसीमा फीफा विश्व कप शुरु हुन १० दिन अघिदेखि शुरु हुनेछ। यी दिनहरुमा तपाईं जहिले पनि कतर आउन अनि त्यहाँदेखि जान सक्नु हुनेछ। यी ६० दिनमा कतर आउने र जाने कुनै समय सीमा हुनेछैन।
यसपाली फीफा विश्व कपको आयोजन कतरमा हुन गइरहेको छ। साधारणत विश्व कपको आयोजन जुलाई-अगस्तको महिनामा हुने गर्छ तर कतरमा निक्कै गर्मी हुने गर्छ। जुलाई-अगस्तमा तापमान ४० डिग्रीभन्दा अधिक हुने भएकोले खेलाड़ीहरूका निम्ति ९० मिनट खेल्नु सम्भव हुनेछैन। यसैकारण कतरले खास एयर कण्डिशनिंगको सहायताले मैदान र अभ्यास गर्ने स्थानहरूको तापमान २३ डिग्री गर्ने प्रस्ताव दिएको थियो तर फीफाले विश्व कपको आयोजन शीतकालमा गर्ने फसेला लियो। यसमा एउटा समस्या पनि रहेको छ। शीतकालमा विश्वभरि फूटबल लीगहरू चलिरहेको हुन्छ अनि विश्व कप पनि त्यही समय हुँदा यी लीगहरूमा असर पर्ने सम्भावना छ। यसैकारण यूरोपमा धेरैवटा लीगहरू यस साल चाँड़ै शुरु गरिएको छ। यी लीगहरूमा पहिलो चरणका म्याचहरू समाप्त भएपछि विश्व कप शुरु हुनेछ।

About Author

Advertisement