‘ककरोच’ बयानमा प्रधानन्यायाधीशको स्पष्टीकरण: युवालाई होइन, नक्कली डिग्रीधारीलाई तारो बनाएको हो

Screenshot_20260515_230754_Chrome

​नयाँ दिल्ली: भारतका मुख्य न्यायाधीश (सीजेआई) सूर्य कान्तले आफ्नो हालैको एउटा विवादित बयानलाई लिएर स्थिति स्पष्ट पारेका छन्। अदालतमा प्रयोग गरिएका ‘ककरोच’ र ‘परजीवी’ जस्ता शब्दहरूलाई लिएर विवाद बढेपछि उनले आफ्नो भनाइको गलत अर्थ निकालिएको प्रस्ट पारेका हुन्। प्रधानन्यायाधीश कान्तले आफ्नो उद्देश्य देशका इमानदार युवाहरूको आलोचना गर्नु कति पनि नरहेको उल्लेख गर्दै बरु आफूलाई देशको युवा पुस्ताप्रति ठुलो गर्व रहेको र उनीहरू नै देशको असली ताकत भएको बताए।
​प्रधानन्यायाधीशले वकालत, सञ्चारमाध्यम तथा अन्य सम्मानित पेसाहरूमा नक्कली शैक्षिक प्रमाणपत्र (डिग्री) का आधारमा प्रवेश गर्ने तत्वहरूविरुद्ध आफ्नो आक्रोश लक्षित रहेको प्रस्ट पारेका छन्। यस्ता प्रवृत्तिका मानिसहरूले योग्य र जेहेन्दार युवाहरूको अवसर खोस्ने गरेको भन्दै उनले समाजका त्यस्ता विकृति बोकेका व्यक्तिहरूलाई मात्र ‘परजीवी’ को संज्ञा दिएको बताए।
​यो विवाद मे १५ को एउटा अदालती सुनुवाइका क्रममा सुरु भएको थियो। आफूलाई ‘वरिष्ठ अधिवक्ता’ को दर्जा नदिएको भन्दै गुनासो गर्ने एक याचिकाकर्ताप्रति आक्रोशित हुने क्रममा प्रधानन्यायाधीश कान्तले बार काउन्सिलको कार्यप्रणालीमाथि समेत प्रश्न उठाएका थिए। सोही क्रममा उनले व्यक्त गरेका कतिपय कडा शब्दहरूलाई सामाजिक अभियन्ता र बेरोजगार युवाहरूको अपमान गरिएको भन्दै आलोचना गरिएको थियो। तर, प्रधानन्यायाधीशले आफ्नो निशाना केवल गलत बाटोबाट पेसागत मर्यादा धुमिल पार्नेहरू मात्र रहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।

About Author

Advertisement