२४ जुलाईः ओलम्पिक च्याम्पियन नीरज चोपड़ाले अमेरिकाको यूजीनमा जारी विश्व एथलेटिक्स च्याम्पियनशीपको ज्याभलिन थ्रो स्पर्धामा रजत पदक जितेर इतिहास रचे। उनी यस इभेण्टमा पदक जित्ने पहिलो भारतीय बने। उनले ८८.१३ मीटरको सर्वश्रेष्ठ थ्रो-को साथ रजत पदक झोलीमा हाले। यस प्रतिष्ठित च्याम्पियनशीपमा भारतको यो १९ सालपछि पहिलो पदक हो। यसअघि २००३-मा अञ्जु बबी जर्जले लंग जम्प स्पर्धामा काँस्य पदक जितेकी थिइन्। नीरज विश्व च्याम्पियनशीपमा पदक जित्ने पहिलो भारतीय हुन्।नीरजको पहिलो प्रयास फाउल रह्यो जबकि दोस्रो प्रयासमा उनले ८२.३९ मीटरको थ्रो गरे। यो उनको सर्वश्रेष्ठ प्रदर्शनदेखि निक्कै टाढ़ा थियो। यसबीच ग्रेनाडाका एण्डरसन पीटर्सले पहिलो प्रयासमै ९० मीटरको दूरीलाई पार गरे। उनले लगातार दुईवटा प्रयासमा ९०.२१ र ९०.४६ मीटरको थ्रो गरी आफ्नो पदक पक्का गरे।

नीरजले तेस्रो प्रयासमा आफ्नो प्रदर्शनमा सुधार गरे। उनले ८६.३७ मीटरको थ्रो गरी चौथो स्थान हासिल गरे। भारतीय स्टार चौथो प्रयासमा ८८.१३ मीटर थ्रो गरी दोस्रो स्थानमा पुगे। नीरजको यो ओलम्पिकभन्दा पनि असल प्रदर्शन थियो। उनले ओलम्पिकमा ८७.५८ मीटरको दूरी तय गरी ज्याभलिन थ्रो-मा स्वर्ण पदक जितेका थिए। नीरजको चौथो प्रयासपछि चेक रिपब्लिकका याकूब वालडेश तेस्रो स्थानमा पुगे। छैटौं प्रयासमा उनले फाउल गरे। नीरजको पाँचौं थ्रो फाउल रह्यो तर याकूबले पनि ८१.३१ मीटर भाला फ्याँक्दा भारतीय खेलाड़ीलाई समस्या भएन। याकूबले ८८.०९ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ काँस्य पदक जिते। यस स्पर्धामा पाकिस्तानका अरशद नदीम पनि थिए। उनी ८६.१६ मीटरको थ्रो सहित पाँचौं स्थानमा रहे। यसबीच ग्रेनाडाका एण्डरसन पीटर्सले लगातार दोस्रो ठूलो इभेण्टमा नीरजबाट स्वर्ण पदक खोसे। नीरजले पीटर्सलाई धेरैपल्ट पछि छोड़िसकेका छन् तर यस साल उनी असल लयमा छन्। यसअघि स्टकहोम डायमण्ड लीगमा यी दुईबीच भिड़न्त भएको थियो। त्यहाँ नीरजले ८९.९४ मीटरको थ्रो गरी राष्ट्रिय रेकर्ड बनाएका थिए तर पीटर्सले ९०.३१ मीटरको थ्रो गरी स्वर्ण पदक जितेका थिए। यसरी त्यहाँ पनि नीरजले रजत पदकमै चित्त बुझाउनु परेको थियो। यस साल दोहा डायमण्ड लीगमा पीटर्सले ९३.०७ मीटरको थ्रो गरेका थिए।









