सिलगढी: अनलाइन गेमिङ प्लेटफर्ममार्फत प्रलोभनमा पारेर वैदेशिक रोजगारी वा अन्य उद्देश्यका लागि लैजान लागिएका दुई नाबालिग बालिकालाई न्यु जलपाईगुडी (एनजेपी) प्रहरीले उद्धार गरेको छ।
मङ्गलबार (१४ जुलाई २०२६) प्राप्त विशेष सूचनाका आधारमा प्रहरीले एनजेपी थाना क्षेत्रअन्तर्गत पर्ने नौकाघाट मोडबाट ११ र १२ वर्षीया दुई बालिकाको सकुशल उद्धार गरेको सिलिगुडी पुलिस कमिस्नरेटले जनाएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार उद्धार गरिएका बालिकाहरू पश्चिम बङ्गालकै मालदा जिल्लाका बासिन्दा हुन्।
पुलिसका अनुसार ती बालिकाहरूलाई केही समयदेखि अनलाइन गेमिङ एपमार्फत गिरोहले आफ्नो जालमा पारेको थियो। उनीहरूलाई अनलाइन माध्यमबाटै एउटा विदेशी भाषाको तालिमसमेत दिइँदै आएको र विदेश लैजाने प्रलोभनमा पारेर ‘ग्रुमिङ’ (प्रभावमा पार्ने काम) भइरहेको पुलिसको भनाइ छ।
घटनाको गम्भीरतालाई हेर्दै सिलिगुडी महानगर पुलिसले सम्बन्धित थानाको विशेष अनुसन्धान टोली (आईटी) लाई जिम्मेवारी सुम्पेको छ। बालिकाहरूलाई कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित टोलीको जिम्मा लगाइएको छ भने घटनामा संलग्न गिरोहको खोजी भइरहेको छ।
यसैबीच, सिलगढी पुलिस कमिस्नरेटले बालबालिकाको सुरक्षाप्रति सजग रहेको बताउँदै आफ्ना बालकालिकाले इन्टरनेट र मोबाइलमा गर्ने गतिविधिमाथि कडा निगरानी राख्न अभिभावकहरूलाई अपिल गरेको छ। कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा ढिला नगरी नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न पुलिसले आग्रह गरेको छ।










