एसडीएफ शिक्षितहरूको पार्टी हो, सिक्किम र सिक्किमे जनताको पार्टी हो- चामलिङ

f6a7e318-4f9c-404a-8384-66a25215509a

गान्तोकः एसडीएफ शिक्षितहरूको पार्टी हो, सिक्किम र सिक्किमे जनताको पार्टी हो, यसैले हामीले सदैव राज्य र राज्यवासीको हित र जितका लागि सत्यको वकालत गर्नुपर्छ। राजनीति भनेको विज्ञान हो अनि विज्ञान सत्यमा आधारित हुन्छ, विज्ञानले सदैव तथ्य र प्रमाणलाई स्वीकार्छ। त्यसैले आजको शिक्षित समाजमा हामीले वैज्ञानिक राजनीति गर्नुपर्छ। झूट र फरेबले एकपल्ट जनता झुक्केलान्, तर सत्यले सधैं जनताको मन जित्न सकिन्छ। हामीले बौद्धिक तर्कलाई महत्त्व दिनुपर्छ।’ उक्त विचार एसडीएफ अध्यक्ष पवन चामलिङले आज जोरथाङस्थित गरिब उत्थान भवनमा आयोजित क्षेत्र स्तरीय कार्यकारिणी समितिको सभामा व्यक्त गरेका हुन्।

चामलिङले भने, ‘क्रान्ति भनेको नव निर्माणको प्रक्रिया हो, एसडीएफ पार्टीको नीति- सिद्धान्तमा नै क्रान्ति निहित छ। तर आज सिक्किममा सिक्किमको नव निर्माणको क्रान्तिको विरुद्ध उदय भएको प्रतिक्रान्तिले क्रान्तिको परिभाषा फेर्ने चेष्टा गरिरहेको छ।’ उनले भने, ‘राजनीतिमा नीति- सिद्धान्तको लडाई हुनुपर्छ, ज्ञान र विज्ञानले युद्ध गर्नुपर्छ, तर सिक्किममा भने राजनीतिलाई ढुङ्गा हान्ने बनाइँदैछ, सिक्किमको राजनीतिक स्तर घटाइँदैछ।’ एसडीएफ अध्यक्षले भने, एसडीएफ विचार, व्यवहार अनि चरित्रले एसकेएमभन्दा पृथक पार्टी हो। एसडीएफ पूर्वाग्रहरहित पार्टी हो। हामी बदला लिनका लागि राजनीतिमा छैनौं, एसडीएफ प्रतिशोधको भावनारहित पार्टी हो । हामी लोकतन्त्रमा विश्वास गर्छौ, हामीले कसैलाई सरकारमा पुगेर पूर्वाग्रह राखेर बदला लिएका थिएनौं, अनि भविष्यमा पनि बदला लिने छैनौं।” उनले भने, ‘आज बाटो बिर्सिएर अर्को बाटो हिड्नेहरू निर्धक्कसँग सिक्किम निर्माणको बाटोमा फर्किनसक्छन्, हामी कसैसँग बैरभाव राख्ने छैनों सबैलाई समेटेर काम गर्नेछौं। हामी सबै मिलेर काम गर्नुपर्छ।’

पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै एसडीएफ अध्यक्षले भने, ‘आज सिक्किमको अस्तित्व असुरक्षित भएको छ । सिक्किमको आर्थिकस्थिति रसातलमा जांदैछ, आज सिक्किमको माटो बेचिदैछ, मान-सम्मान बेचिदैछ, सिक्किमको हक अधिकार बेचिदैछ अनि सिक्किम बेचेको पैसा जनतालाई वितरण गरेर दास बनाउने काम हुँदैछ । जनतालाई हेप्ने काम गरिदैछ । यसैले आज तपाईंहरू पार्टी कार्यकर्ता एवं सहयोद्धाहरूको अटल विश्वास र योगदानका कारण एसडीएफ पार्टी जीवन्त भएको छ, अनि सिक्किमे जनतालाई यो अराजक परिस्थितिबाट मुक्ति दिन तथा सिक्किम बचाउनका लागि एसडीएफ पार्टी तयार भएको छ।’ यसअवसरमा दक्षिण र पश्चिम जिल्ला पार्टी पदाधिकारीहरूको नियुक्ति पत्र प्रदान गरिएको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।

About Author

Advertisement