गान्तोक: आगामी १३ नोभेम्बरमा नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा सम्पन्न हुने उप चुनाउलाई लिएर एसकेएम पार्टी पछि एसडीएफ पार्टीका उम्मेद्वारहरूले आज नामाङकन पत्र बुझाएका छन्। च्याखुङ सोरेङ निर्वाचन क्षेत्रमा सम्पन्न हुने उपचुनाउको निम्ति एसडीएफ पार्टीका उम्मेद्वार प्रेम बहादुर भण्डारीले आज सोरेङ जिल्लका जिल्लापाल एवं रिटर्निङ अधिकारी धिराज सुवेदीसमक्ष आफ्नो नामाङकन पत्र बुझाएका हुन्। सोही प्रकारले नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट एसडीएफ पार्टीका उम्मेद्वार डानियल राईले आज नामाङकन पत्र बुझाएका छन्। उनले आज नाची जिल्लाका जिल्लापाल एवं रिटर्निङ अधिकारी समक्ष नामाङकन पत्र बुझाएका हुन् भने डमी उम्मेद्वारको रूपमा एसडीएफ पार्टीबाट योजना राईले नामाङकन पत्र बुझाएकी छन्। उल्लेखनीय छ, नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट एसकेएम पार्टीले सतिश चन्द्र राईलाई उम्मेदवारको रूपमा खडा गरेको छ भने सोरेङ च्याखुङ निर्वाचन क्षेत्रको निम्ति पूर्व विधायक अदित्य गोलेलाई टिकट दिएको छ। यी दुवै उम्मेदवारले गत २१ अक्टोबरको दिन नामाङकन पत्र बुझाइसकेका छन्। भारतको चुनाउ आयोगद्वारा जारी गरिएको निर्देश अनुसार नामाङकन पत्र भर्ने अन्तिम मिति २५ अक्टोबर तीनबजीसम्म रहेको छ। इच्छुक उम्मेद्वारहरूले बिहान ११ बजीदेखि ३ बजीसम्म आफ्नो नामाङकन पत्र बुझाउन सक्नेछन्। सोही प्रकारले उम्मेद्वारहरूले बुझाएको नामाङकन पत्रको जाँच आगामी २८ अक्टोबरको दिन हुनेछ भने उम्मेद्वारहरूले आफ्नो नामाङकन पत्र आगामी ३० अक्टोबरसम्म फिर्ता लिन सक्नेछन्।











