एसडीएफले बाहिरको शक्ति ल्याएर राज्यको शान्ति श्रृंखला भंग गर्दैछ: जेकब खालिङ

IMG-20240109-WA0001.jpg

गान्तोक: दक्षिण जिल्लाको तुमिन लिङ्गी निर्वाचन क्षेत्रमा एसकेएम पार्टीको समष्टि स्तरीय सांगठनिक कार्यक्रम एवं जनसभा आज सम्पन्न भयो। तुमिन लिङ्गीको बराङ स्कुलको खेल मैदान परिसरमा आयोजित यस कार्यक्रममा मुख्य अतिथिको रूपमा मन्त्री बीएस पन्त उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङ रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री बीएस पन्तले आगामी चुनाउमा एसकेएम पार्टीले दिएको उम्मेदवारलाई भारी मतले जिताएर विजयी गराउनुपर्ने आग्रह गरे। उनले वर्तमान मुख्यमन्त्री गरीबमुखी रहेको बताउँदै अहिलेसम्म कसैलाई पनि भेदभाव नगरेको जानकारी गराए। यस निर्वाचन क्षेत्रबाट एसकेएमको उम्मेदवारले जितेको खण्डमा यहाँको सामुदायिक साथै व्यक्तिगत विकास हुने जानकारी गराए।

यसै क्रममा मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङले आफ्नो सम्बोधनमा एसडीएफ पार्टी कमजोर भएपछि बाहिरबाट किरायामा मान्छेहरू ल्याएर राज्यको शान्ति श्रृंखला भंग गर्ने कोशिष गरेको आरोप लगाए। अबदेखि राज्यबाहिरबाट खेतालाको रूपमा ल्याएको मानिसहरूले राज्यको राजनितीमा हस्तक्षेप गर्न खोजेमा नौ डाँडा कटाउने चेताउनी दिए। उनले आजदेखि एसकेएम पार्टीले चुनावी अभियान तुमिन लिङगी निर्वाचन क्षेत्रबाट शुरू गरेको र समापन पनि यसै निर्वाचन क्षेत्रमा भव्य रूपमा गर्ने अवगत गराए। यसै महिनाभित्रमा सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा हाउस अपग्रेडेशन, नोकरी, जीसीआई सीट, आदि वितरण गर्ने योजना रहेको पनि जानकारी गराए।

खालिङले प्रसंग फेर्दै पुर्व मुख्यमन्त्री पवन चामलिङ सत्तामा हुँदा पनि बाहिरको शक्ति ल्याएर राज्यमा हिंसा फैलाउने गर्थे भने सत्ताच्युत भएपछि पनि बाहिरको शक्ति ल्याएर राज्यको शान्ति श्रृंखला भंग गर्दै आइरहेको आरोप लगाए। तर अब बाहिरको शक्तिको हेपाई एसकेएम पार्टीले नसहने पनि उनले जानकारी गराए। देशको सबैभन्दा शान्तिप्रिय राज्यको नाममा सिक्किमलाई चिनिने गरिन्छ भन्दै सिक्किममा आउने पुरूष महिला दुवै प्रकारका पर्यटकहरू सुरक्षित रहेको पनि जानकारी गराए।

वर्तमान सरकारले राज्यमा बसोबासो गर्ने कुनै पनि समुदायलाई अन्याय नगरेको जानकारी गराउँदै यदि कोही पनि जातको नाममा हेपिएको छ भने सोझै पार्टी र सरकार समक्ष गुनासो गर्नुपर्ने आग्रह गरे। सिक्किमे जनताको दुश्मन यदि कोही छ भने त्यो एसडीएफ पार्टी हो जसले राज्य बाहिरको शक्तिको प्रयोग गर्दैछ भनि खालिङले आफ्नो सम्बोधनमा बताए।

कार्यक्रमलाई युवा प्रकोष्ठ प्रमुख संयोजक सहदेव शर्मा, हाउजिङ बोर्डका अध्यक्ष कर्माटाँसी भोटिया लगायत अन्यले पनि सम्बोधन गरेको जानकारी एसकेएम प्रचार सचिव अभिषेक शर्माले प्रेस विज्ञप्तिमा बताएका छन्।

About Author

Advertisement