गान्तोक: विपक्षी एसडीएफ पार्टीले राज्य बाहिरबाट असामाजिक तत्वहरूलाई निम्त्याएर राज्यको शान्ति श्रृंखलालाई भंग गर्ने प्रयास गरेको आरोप एसकेएम प्रवक्ता जेकब खालिङले लगाएका छन्।
प्रवक्ता खालिङले एसकेएम कार्यकर्ताहरूलाई धैर्य र शान्तिपूर्वक कार्य गर्न पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीको पक्षमा अपील गरेका छन्।
प्रवक्ता खालिङले आज जारी प्रेस विज्ञप्तिमा सोरेङ जिल्लाको रिन्चेनपोङ समष्टिमा आज एसडीएफ पार्टीका केही समर्थकहरूले राज्य बाहिरबाट केही असामाजिक तत्वहरूलाई निम्त्याएर एसकेएम पार्टीका केही कार्यकर्ताहरू तथा सर्वसाधरणमाथि प्राणघातक आक्रमण गरेको छ भन्दै उक्त घटनाको घोर निन्दा र भर्त्सना गरेका छन्। आफ्नो जन समर्थन नरहेपछि एसडीएफले यसरी राज्य बाहिरबाट असामाजिक तत्वहरूलाई निम्त्याएर राज्यको शान्ति श्रृंखलालाई भंग गर्ने प्रयास गरेको आरोप लगाउँदै प्रवक्ता खालिङले यस्तो हिंसात्मक राजनितिको विरोध सबैतिरबाट हुनुपर्ने बताएका छन्।
यस अघि पनि एसडीएफले राज्यबाहिरबाट असामाजिक तत्वहरू ल्याएर राज्यमा अशान्ति सिर्जना गर्ने प्रयास गरेको आरोप लगाउॅंदै प्रवक्ता खालिङले जनताले एसडीएफ पार्टीको यस्तो हिंसात्मक कार्यलाई कहिले पनि सहन नगर्ने बताएका छन्। आफ्ना पार्टी कार्यकर्ताहरूलाई धैयर्ता र शान्तिपूर्वक कार्य गर्ने पार्टी अध्यक्ष तथा मुख्यमन्त्रीको पक्षमा उनले अपील पनि गरेका छन्।










