गान्तोक: विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का पूर्व उपाध्यक्ष तथा प्रवक्ता रिक्जिङ नर्बु दोर्जी भोटियाले अब पनि एसडीएफ पार्टीमा बसेर परिवर्तनको आशा गर्नु युवाहरूले आफ्नो भविष्य बिगार्नु सरह भएको दाबी गरेका छन्।
भोटिया सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको १४औँ स्थापना दिवसका अवसरमा रम्फू खेल मैदानमा आयोजित कार्यक्रममा बोल्दै थिए। मुख्यमन्त्री तथा एसकेएम अध्यक्ष प्रेमसिंह तामाङ (पीएस गोले) को विशेष उपस्थितिमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी नेताहरू एसकेएममा प्रवेश गरेका थिए।
हालै एसडीएफ पार्टी त्यागेर एसकेएममा सामेल भएका भोटियाले आफ्नो सम्बोधनमा एसडीएफको राजनीति अब अन्तिम चरणमा पुगेको बताए। एसडीएफलाई सत्ताको शिखरमा पुर्याउने जनताले अहिले पीएस गोलेलाई साथ दिइरहेका अवस्थामा आफूहरूले पनि पुनर्विचार गर्नुपर्ने समय आएको उनको भनाइ थियो।
उनले पवन चामलिङ पटक–पटक चुनाव हार्दा पनि व्यक्तिगत रूपमा असर नपर्ने तर त्यसको मूल्य युवाहरूले आफ्नो भविष्य गुमाएर चुकाउनु पर्ने बताए। जहाँ जनताको विश्वास छ र युवाहरूको आवाज सुन्ने राजनीति छ, त्यहीँ एसकेएम पार्टी रहेको उनको दाबी थियो। आफू युवाहरूको भविष्यको पक्षमा उभिन एसकेएममा सामेल भएको पनि उनले स्पष्ट पारे। उनले आफ्नो भाषणमा सिटिजन एक्सन पार्टी (सीएपी) को पनि आलोचना गरे।
यसै अवसरमा सीएपीका संस्थापक अध्यक्ष एलपी काफ्लेले सीएपी पार्टी सामूहिक नेतृत्वको सिद्धान्तबाट विचलित भई व्यक्ति–केन्द्रित बनेको आरोप लगाए। सुधारको उद्देश्यले गठन भएको पार्टी अहिले दिशाहीन बनेको भन्दै उनले २०२९ को चुनावमा एसकेएमले देशमै रेकर्ड कायम गर्दै सरकार गठन गर्ने दाबी गरे।
कार्यक्रममा एसडीएफका नेता तथा पूर्व विधायक बेग बहादुर राईले बिना शर्त एसकेएम पार्टीमा सामेल भएको घोषणा गरे। उनले मुख्यमन्त्री गोलेको नेतृत्वमा भइरहेको समावेशी राजनीतिप्रति आन्तरिक रूपमा समर्थन जनाउँदै राम्रो सरकारको समर्थन गर्न पार्टी प्रवेश गरेको बताए।
त्यसैगरी पूर्व विधायक मिचुङ भोटियाले लामो ‘वनवास’ पछि आफ्नो पुरानो घर फर्किएको अनुभूति भएको बताए। मुख्यमन्त्री प्रेमसिंह तामाङको कार्यशैलीको प्रशंसा गर्दै उनले केन्द्र सरकारसँग सन्तुलित सम्बन्ध कायम गर्दै क्षेत्रीय दलको अस्तित्व जोगाउन सफल भएको टिप्पणी गरे। राजनीतिको नैतिक सिद्धान्तलाई व्यवहारमा उतार्न गोले सफल भएको भन्दै उनले सन्तोष व्यक्त गरे।











