एसडीएफ प्रवक्ता डा. शिव कुमार शर्मा पक्राउ

IMG-20240418-WA0222.jpg

गान्तोक: सामाजिक सञ्जालमा आगामी १९ अप्रेलको दिन सम्पन्न हुन गइरहेको चुनाउलाई लिएर एउटा कथित झुटो ओपिनियन पोल पोस्ट गरेको आरोपमा सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका प्रवक्ता डा. शिव कुमार शर्मालाई पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार सदर पुलिसले उनलाई हिजो राति उनको दक्षिण सिक्किमको सुम्बुकस्थित निजी घरबाट पक्राउ गरेको हो। पुलिसले डा. शर्मा विरुद्ध भारतीय दण्ड संहिताको धारा १२०(बी), १७१, १८८, ५०५ साथै जनप्रतिनिधि ऐनको धारा १२६ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

डा. शर्माको पक्राउको घट्नालाई लिएर सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीले कड़ा आपत्ति जनाएको छ। सामाजिक सञ्जालमा धेरैजनाले शेयर गरेको एउटा पोस्टलाई शेयर गर्दा मात्र प्रशासनले यसरी उनलाई पक्राउ गर्नु दुर्भाग्यजनक अनि राजनीति प्रेरित बताएको छ। उक्त पोस्टलाई सामाजिक सञ्जालमा धेरैले शेयर गरेकोछ भन्दै डा. शर्मा बाहेक अरुलाई किन पक्राउ गरिएन भन्दै एसडीएफ पार्टीले प्रश्न उठाएको छ।

एकातिर एउटा पोस्ट शेयर गर्दा मात्र डा. शिव कुमार शर्मालाई पक्राउ गर्ने पुलिस प्रशासनले अर्कोतिर कथित रुपमा महिलासित यौन दुर्व्यवहार गर्ने एसकेएम कार्यकर्ताहरू विरुद्ध भने कुनै कार्यवाही नगरेको एसडीएफ पार्टीको आरोप रहेको छ। उल्लेखनीय छ, गत १५ अप्रेलको राति पश्चिम सिक्किमको रिञ्चेनपोङमा एकजना महिलामाथि हातपात र यौन दुर्व्यहार गरेको घट्ना प्रकाशमा आएको थियो। यस घट्ना सम्बन्धमा सोरेङ जिल्लाअन्तर्गत कलुक पुलिसले प्राथमिकी दर्ता गरेको छ। प्राथमिकीमा एसकेएम कार्यकर्ताहरू सुकहाङ लिम्बू र जिग्मी भोटियालाई आरोपी बताइएको छ। उनीहरूमाथि एकजना महिलामाथि कुटपिट साथै यौन दुर्व्यवहार गरेको आरोप छ।

डा. शिवकुमार शर्मालाई पक्राउ गर्ने पुलिस प्रशासनले महिलासित यौन दुर्व्यवहार गर्ने एसकेएम कार्यकर्ताहरूलाई किन पक्राउ गरेको छैन भन्दै सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीले प्रश्न तेर्साएको छ।

About Author

Advertisement