गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका नेता भाइचुङ भोटियाले सत्तारूढ़ एसकेएम पार्टीमाथि सिक्किमलाई ग्रेटर सिक्किम बनाउने दिशामा काम गरिरहेको आसय व्यक्त गरेका छन्।
उनले मुख्यमन्त्री पीएस तामाङ आज सिक्किमका मुख्यमन्त्री हुन् भने भविष्यमा ग्रेटर सिक्किमका मुख्यमन्त्री पनि बन्न सक्ने छन् भन्दै सिक्किमे जनतालाई सचेत गराएका छन्।
एसडीएफ नेता भोटियाले एक संवाददाता सम्मेलनमा यस्तो आरोप लगाएका हुन्। उनले २०१९ को तुलनामा अहिले भोटरहरूको संख्या बढेर २८ हजारभन्दा धेरै भएको छ भन्दै एसकेएमले राज्य बाहिरबाट ३ देखि ५ हजार मानिस सिक्किम भित्र्याएर भोटर कार्ड बनाइदिएको दाबी गरे। उनले आउॅंदो आम चुनाउमा पनि एसकेएम पार्टीले नै सरकार गठन गरेको खण्डमा सिक्किम बाहिरका मानिसहरूलाई भित्र्याएर भोटर कार्ड बनाइदिने छन् भनी बताए।
उनले पीएस तामाङ वर्तमानमा सिक्किमको मात्र मुख्यमन्त्री हुन् भने २४ मा सरकार गठन गरेपछि उनी ग्रेटर सिक्किमको पनि मुख्यमन्त्री बन्न सक्छन् भनी बताए। उनले एसकेएम पार्टीमाथि गान्तोकको सीट भाजपालाई बिक्री गरेको आरोप लगाउॅंदै एसकेएमले सरकार गठन गरे २०२६ को सीमाङ्कनपछि सरौगी र मित्तललाई एमएलए, मन्त्री र मुख्यमन्त्री बनाउन बेर नलगाउने आरोप लगाए।
भोटियाले एसकेएम पार्टीलाई सिक्किम र सिक्किमे जनतासॅंग कुनै सरोकार छैन भन्दै एसकेएमले केवल चौकीको निम्ति राजनीति गरिरहेको आरोप लगाए। उनले एसकेएम पार्टीलाई क्यान्सरको संज्ञा दिॅंदै २४ को चुनाउमा यस रोगको उपचार नगरे सिक्किम बर्बाद बन्नेछ भनी बताए।










