व्यवसायीहरूको सशक्तीकरण र सौन्दर्य क्षेत्रको विकासमा जोड
नामची: सिक्किमका छवटै जिल्लाका हेयर तथा ब्युटी सेवा क्षेत्रका व्यवसायीहरूलाई समेट्दै नवगठित ‘अल सिक्किम हेयर एन्ड ब्युटी स्टुडियो एसोसिएसन’ (एसएएचबीएसए) को पहिलो साधारण सभा बुधबार जोरेथाङस्थित एक स्थानीय होटलमा सम्पन्न भएको छ। यस क्षेत्रका व्यवसायीहरूको सामूहिक विकास, व्यावसायिक सहकार्य र सौन्दर्य उद्योगलाई सुदृढ बनाउने उद्देश्यका साथ एसोसिएसनले आफ्नो औपचारिक यात्रा सुरु गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाकी मुख्य सल्लाहकार बबिता लिम्बूले सेवा क्षेत्रमा महिला उद्यमीहरूको ऐक्यबद्धताले राज्यमा महिला सशक्तीकरणको बढ्दो भावनालाई झल्काएको बताउनुभयो। धेरैजसो उद्योगहरू डिजिटल प्रविधिमा आधारित हुँदै गएको अवस्थामा पनि हेयर तथा ब्युटी क्षेत्र पूर्ण रूपमा मानवीय दक्षता र व्यक्तिगत सेवामा निर्भर रहेको उल्लेख गर्दै उहाँले यो संस्थाको गठनले व्यवसायीहरूलाई थप आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै संस्थालाई औपचारिक रूपमा दर्ता गरी सुदृढ बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सरकारी योजना तथा कल्याणकारी कार्यक्रमहरूसँग व्यवसायीहरूलाई जोड्न यसले पुलको काम गर्ने बताउनुभयो।
यसैगरी एसोसिएसनकी अध्यक्ष रेखा गुरुङले लामो समयको छलफल र प्रयासपछि यो संस्था स्थापना भएको जानकारी दिनुभयो। व्यवसायीहरूले भोग्दै आएका समस्याहरूलाई उचित निकायसमक्ष पुर्याउन र समाधान खोज्नका लागि यो साझा मञ्च तयार पारिएको उहाँको भनाइ थियो।
अध्यक्ष गुरुङका अनुसार संस्थाले तत्कालका लागि तीन प्रमुख उद्देश्यहरूमा केन्द्रित रहेर काम गर्नेछ:
१. यस क्षेत्रमा कार्यरत कर्मचारीहरूका लागि स्वास्थ्य तथा जीवन बिमाको व्यवस्था मिलाउने
२. नयाँ ब्युटिसियन तथा हेयर स्टाइलिसहरूका लागि रोजगारीको सुनिश्चिततासहित व्यावसायिक तालिम प्रदान गर्ने, र
३. राज्यभित्र तथा बाहिर कार्यरत व्यवसायीहरूका समस्या र गुनासोहरूको सम्बोधन गर्ने।
कार्यक्रममा सहभागी प्रतिनिधिहरूबीचको छलफलपश्चात् नयाँ कार्यकारी समितिको चयन गरिएको छ। साथै, यस क्षेत्रका व्यवसायीहरूको सीप अभिवृद्धि र नवप्रवर्तनका लागि विशेषज्ञहरूको उपस्थितिमा ‘ग्लामोरा’ (ग्लामोरा – ग्लैमर और औरा) नामक पाँच दिने कार्यशाला तथा सेमिनार आयोजना गर्ने प्रस्तावमाथि पनि छलफल भएको नामची जिल्ला सूचना अधिकारीले जनाएका छन्।









