एसआईआरको जारी रिपोर्टप्रति हामी खुशी छैनौं र यसको लागि पुनः विचार गरियोस् भन्दै अजय एडवर्ड्सले लेखे निर्वाचन आयोगलाई पत्र

IMG-20260303-WA0097

खरसाङ: एसआईआरको जारी रिपोर्टप्रति हामी खुशी छैनौं र यसको लागि पुनः विचार गरियोस् भन्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सले निर्वाचन आयोगलाई पत्र लेखेका छन्। उनले यस विषयमा भने, एसआईआरको ताजा रिपोर्टले देशरक्षक गोर्खाहरूमाथि अन्याय भएको स्पष्ट भएको छ। गत २८ फरवरीका दिन निर्वाचन आयोगले एसआईआरको सूची जारी गरेको छ र मतदाता सूचीबाट धेरै मतदाताहरूको नाम हटाइएको सार्वजनिक भइसकेको छ। मतदाता सूचीबाट साधारणभन्दा साधारण मतदाताहरूको नाम हटाइएकाले ती मतदाताहरूमा हतासपन छाएको छ।एसआईआरको रिपोर्ट अनुसार पश्चिम बंगालको मतदाता सूचीबाट धेरै मतदाताहरूको नाम हटाइएका छन्। यहाँसम्म कि देशरक्षक गोर्खाहरूको नामसमेत हटाउने कार्य भएको छ। यस्ता कार्यहरूबाट इण्डियन गोर्खा जनशक्ति फ्रण्ट खुशी छैन। देशका लागि आफ्नो प्राणको आहुति दिने गोर्खाहरूको नाम एसआईआरको सूचीबाट हटाइनु सरासर अन्याय हो।’
उनले अघि भने, एउटा बुथ मात्र होइन, धेरैवटा बुथ तथा ब्लकहरूमा आश्चर्यचकित बनाउने एसआईआरको रिपोर्ट आएको छ, जसमा मतदाताहरूको नाम सूचीबाट हटाइएको छ। कतिपय ठाउँमा एउटै घरभित्र दाजुको नाम छ तर भाइको छैन। त्यसरी नै छोराको नाम छ तर बाबुको नाम छैन। यसले गोर्खाहरूप्रति भारत सरकारको हेर्ने दृष्टिकोण कस्तो छ भन्ने स्पष्ट पार्दछ।’
यी सबै विषयलाई ध्यानमा राख्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्ड्सले निर्वाचन आयोगलाई पत्राचार गरेका छन्। पत्रमा एसआईआरद्वारा जारी गरिएको रिपोर्टप्रति हामी खुशी छैनौं भनी उल्लेख गरिएको छ। पश्चिम बंगाल विधानसभा चुनाव गराउने हतारमा रैथाने जनजाति गोर्खाहरूको नाम मतदाता सूचीबाट हटाउनु गलत हो र मतदाताहरूको नाम काटिनु हुँदैन भन्ने कुरा अजय एडवर्ड्सले स्पष्ट रूपमा उल्लेख गरेका छन्। उनले भने, ‘केन्द्रीय गृहमन्त्री अमित शाहले संसदीय कार्यकालको आफ्नो सम्बोधनमा मतदाताहरूको नाम सूचीबाट हटाउने संकेत अघि नै दिइसकेका थिए र त्यही अनुरूप कार्य भइरहेको देखिन्छ। मतदाता सूचीबाट हटाइएका गोर्खा मतदाताहरूको भविष्य के होला? यो गम्भीर विषय हो। बाहिरबाट आएका व्यक्तिहरूको नाम मतदाता सूचीबाट हटाइएमा त्यसबारे हामीलाई केही भन्नु छैन, तर यहाँका रैथाने गोर्खा जनजातिहरूको नाम हटाउनु स्वीकार्य छैन। एउटै घरभित्र दाजुको नाम छ तर भाइको नाम हटाइएको छ, बहिनीको नाम छ तर दिदीको नाम हटाइएको छ। त्यसो भए भोलिको दिन सूचीबाट हटाइएका मानिसहरूलाई डिपोर्ट गर्ने हो त? यस प्रकारको कार्य हामी सहन गर्ने छैनौं र मान्ने पनि छैनौं। चुनाव गराउने हतारमा रैथानेहरूको नाम सूचीबाट हटाउने कार्यको हामी घोर निन्दा गर्छौं। एसआईआरको कार्यलाई हामीले सुरुदेखि नै स्वागत गरेका थियौं, तर जुन प्रकारले कार्य गरिएको छ त्यसको हामी घोर विरोध गर्दछौं। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट मात्र होइन, अन्य धेरै राजनीतिक दलहरू पनि एसआईआरको रिपोर्टप्रति असन्तुष्ट छन्।’
एसआईआरद्वारा जारी गरिएको सूचीलाई पुनः विचार गरियोस् भनी इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्ड्सले माग गर्दै निर्वाचन आयोगलाई पत्राचार गरेका छन्।

About Author

Advertisement