एमालेक अध्यक्ष ओली र चीनकी उपमन्त्रीबीच शिष्टाचार भेटवार्ता

IMG-20240127-WA0170.jpg

काठमाडौं: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेटवार्ता गरेकी छन्। एमाले केन्द्रीय कार्यालय च्यासलमा भएको भेटमा नेपाल–चीनबीच पारस्परिक सहयोग, नेपालको आर्थिक विकासमा चीनको सहयोग र दुई पार्टीबीचको आपसी सम्बन्ध लगायत विषयमा कुराकानी भएको भेटमा सहभागी एमाले वैदेशिक मामिला विभागका सदस्य गोपाल खनालले बताएका छन्। भेटमा उपमन्त्री सुनले नेपाल र चीनबीच पारस्परिक सहयोगका विभिन्न आयाममाथि चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने बताइन्। उनले चीनले गरेको आर्थिक विकासबाट नेपालले लाभ लेओस भन्ने चाहना चीनको रहेको भन्दै त्यसका लागि नेपालले प्राथमिकता निर्धारण गरेर विकास परियोजनाहरू अगाडि बढाउनुपर्ने सुझाव दिइन्। भेटमा उपमन्त्री सुनले चीनका राष्ट्रपति सी जिनपिङले अध्यक्ष ओलीलाई पठाएका शुभकामना र सम्झना समेत पढेर सुनाएकी थिइन्। भेटमा एमाले अध्यक्ष ओलीले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगको प्रशंसा गर्दै नेपालको विकासमा चीनले निरन्तर सहयोग गर्ने विश्वास रहेको धारणा राखेका थिए। अध्यक्ष ओलीले नेपालले सधै एक चीन नीतिलाई कार्यान्वयन गर्दै आएको र नेपालको भूभागमा चीनविरूद्धका गतिविधिमा रोक लगाएको बताएका थिए। भेटमा अध्यक्ष ओलीका साथमा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य तथा वैदेशिक मामिला विभाग प्रमुख डा. राजन भट्टराई, सचिव अन्जान शाक्य र सदस्य गोपाल खनाल सहभागी थिए।

About Author

Advertisement