नयाँ दिल्ली: विश्वकै चौथो ठूलो ज्वेलरी रिटेलर मलाबार गोल्ड एन्ड डायमण्ड्सले भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह (एमएस) धोनीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ। ‘द रेस्पोन्सिबल ज्वेलर’ (जिम्मेवार आभूषण बिक्रेता) को अवधारणालाई थप सुदृढ बनाउने उद्देश्यका साथ ब्रान्डले धोनीसँग दीर्घकालीन साझेदारीको घोषणा गरेको हो।
उपभोक्ताहरूले पारदर्शिता, प्रामाणिकता र विश्वासलाई प्राथमिकता दिइरहेको वर्तमान समयमा मलाबार गोल्डले आफ्नो सम्पूर्ण ‘भ्यालु चेन’ मा जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै लगेको जनाएको छ।
’द रेस्पोन्सिबल ज्वेलर’ अभियानअन्तर्गत ब्रान्डले नैतिक स्रोतबाट कच्चा पदार्थको संकलन (एथिकल सोसिङ), गुणस्तरीयता, पारदर्शी मूल्य निर्धारण र ग्राहककेन्द्रित नीतिहरूलाई अगाडि सारेको छ। यसलाई ‘मलाबार प्रमिसेज’ मार्फत कार्यान्वयनमा ल्याइएको छ। जसअन्तर्गत १००% बीआईएस हलमार्कयुक्त गहना, प्राकृतिक हीरामा २८ वटा गुणस्तर परीक्षण, शून्य लुकाइएको शुल्क, लाइफटाइम मेन्टेनेन्स र पूर्ण बीमाजस्ता सुविधाहरू समावेश छन्।
भारतीय क्रिकेटका सफल कप्तान धोनी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा तीनवटै आईसीसी ह्वाइट-बल ट्रफी जिताउने एकमात्र कप्तान हुन्। सन् १९९३ मा स्थापना भएदेखि विगत ३३ वर्षदेखि ब्रान्डले बोकेको इमानदारी, निरन्तरता र विश्वसनीयताको मूल्यमान्यता धोनीको व्यक्तित्वसँग मेल खाने कम्पनीको भनाइ छ।
साझेदारीबारे मलाबार ग्रुपका अध्यक्ष एम. पी. अहमदले भने, “आजका उपभोक्ता केवल उत्कृष्ट उत्पादन मात्र नभई हरेक खरिदमा पारदर्शिता र भरोसा चाहन्छन्। धोनीले आफ्नो इमानदारी र अनुशासनबाट करोडौँ मानिसको विश्वास जितेका छन्, जुन हाम्रो ब्रान्डको मूल मर्म पनि हो।”
त्यस्तै, नयाँ जिम्मेवारीबारे धोनीले भने, “भरोसा निरन्तरता र कामबाट मात्रै आर्जन गर्न सकिन्छ। मलाबार गोल्डको पारदर्शिता र ग्राहकप्रतिको निष्ठाले मलाई प्रभावित पारेको छ। उपभोक्तालाई सही र सचेत निर्णय लिन प्रेरित गर्न म उत्सुक छु।”
यो अभियान टेलिभिजन, प्रिन्ट, डिजिटल, सामाजिक सञ्जाल र रेडियोसहित विश्वभर रहेका मलाबारका ४५० भन्दा बढी शोरूमहरूमार्फत एकसाथ सञ्चालन हुनेछ।









