गान्तोक: एनडीए पदकी उम्मेदवार द्रौपदी मुर्मुलाई पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले पनि भोट गरेका छन्। देशका विभिन्न राज्यहरूसॅंगै सिक्किम विधानसभामा पनि आज बिहान दश बजीदेखि राष्ट्रपति पदको निम्ति चुनाउ सम्पन्न भयो। मतदानपछि पत्रकारहरूसॅंग कुराकानी गर्दै एसडीएफ अध्यक्ष चामिलङले आफु पनि एनडीएकै सदस्य भएको नातामा द्रौपदी मुर्मुलाई भोट हालेको बताए। उनले चुनाउमा एनडीए उम्मेदवार मुर्मुको जीत निश्चित रहेको पनि दाबी गरे।
पत्रकारहरूले सोधका प्रश्नहरूको जवाफमा चामलिङले, ‘नयॉं राष्ट्रपति भएपछि सिक्किमका मुद्दाहरू पूरा हुन सक्छन्, यदि सरकारले सही रूपमा पहल गऱ्यौ भने।’ उनले हामी पनि भारतीय नागरिक हौं र संविधान अनुसार पाउने अधिकारहरूमा हाम्रो पनि हक छ भनी बताए। उनले सिक्किमको थॉंतीमा रहेका मागहरू पूरा हुनेछन् भन्ने कुरामा आफु विश्वस्त रहेको बताए। उनले एसडीएफ पार्टीको समर्थन एनडीएकी उम्मेदवार द्रौपदी मुर्मुलाई रहेको विषयमा पार्टीको तर्फबाट भाजपा अध्यक्ष जेपी नड्डालाई जनाइएको जानकारी दिए। एक प्रश्नको जवाफमा चामलिङले सिलगढीमा उनको अनपस्थितिलाई लिएर निकै चर्चा भएको कुरा थाहा पाएको बताए। उनले व्यंग्यात्मक स्वरमा भने, ‘मेरो अनुपस्थिति महसुस गर्दो रहेछन्, यो खुशीको कुरा हो।’










