नाम्ची: आज नाम्चीमा राष्ट्रपति चुनाउमा एनडीएकी उम्मेदवार द्रौपदी मुर्मुको जीतको खुशीमा भव्य विजय र्याली निकालियो। र्यालीमा मुख्यमन्त्री पीएस गाेलेकाे निर्देशनमा गरिएकाे बताइएकाे छ। विजय र्याली भाइचुङ स्टेडियमदेखि शुरू भएर नाम्ची परिसरकाे परिक्रमा गरि सेन्टर पार्कमा समाप्त भयाे। यस र्यालीमा सहभागी हुनेहरूले राष्ट्रिय झण्डा, द्रौपदी मुर्मुकाे नाममा बधाई-शुभकामना लेखिएका प्ला कार्ड र ब्यानरहरू बाेकेका थिए।
यस र्यालीलाई सफल बनाउन मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णकुमारी राई मुख्य अतिथिको रूपमा उपस्थित थिइन्। र्याली शुरू हुनभन्दा अघि भाइचुङ स्टेडियममा साँस्कृतिक कार्यक्रम पनि सम्पन्न भयाे। यस क्रममा राङगाङ-याङगाङका विधायक राजकुमारी थापाले राष्ट्रपति द्रौपदी मुर्मुकाे जीवनी संक्षेपमा प्रकाश पारेकी थिइन्।
र्यालीमा मन्त्री सञ्जित खरेल, मन्त्री बीएस पन्त, विधायक फरवन्ती तामाङ, विधायक टीटी भाेटिया, विभिन्न विभागका अध्यक्ष-सल्लाहकारगण, दक्षिण सिक्किमका सबै समष्टिका मानिसहरू आदिकाे उपस्थिति रहेकाे थियाे। यस अवसरमा पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णकुमारी राईले द्रौपदी मुर्मुकाे जीतमा खुशी व्यक्त गर्दै उनलाई बधाई-शुभकामना टक्राइन्।









