काठमाडौँ: राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्। कर्पोरेट मिडिया ग्रुपद्वारा लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजित विशेष समारोहमा वन्तलाई उक्त अवार्ड प्रदान गरिएको हो। विगत १७ वर्षदेखि राजनीतिक, आर्थिक, मनोरञ्जन र खेलकुद लगायतका विभिन्न विधामा फोटोपत्रकारितामार्फत देश-विदेशमा सूचना प्रवाहमा योगदान पुर्याएका तथा फोटोपत्रकारहरूको हकहित र क्षमता अभिवृद्धिमा सक्रिय रहेकाले उनलाई यो सम्मान दिइएको आयोजकले जनाएको छ। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) की पूर्वअध्यक्ष भवानी राणाले उनलाई अवार्ड तथा सम्मानपत्र हस्तान्तरण गरे।
कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्ज्वलजङ्ग शाहका अनुसार कार्यक्रममा कर्पोरेट फोटोग्राफीसहित विभिन्न २३ विधामा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मानित गरिएको थियो। ईश्वरलाल प्रतिष्ठानसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रम नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा, पर्यटन तथा उद्यमशीलतामा उल्लेखनीय योगदान पुर्याउनेहरूको पहिचान र सम्मानका लागि गरिएको हो।

यस क्रममा विभिन्न विधा अन्तर्गत डेरी इन्डस्ट्रिजमा गङ्गाबहादुर खड्का, युथ आइकनमा रोहित कार्की, फर्निचर इन्डस्ट्रिजमा तरालाल धरेल, एग्रो इन्टरप्रेनरशिपमा कृष्णहरि अर्याल, कर्पोरेट वुमन बिजनेसमा अभिज्ञा मल्ल, कर्पोरेट फेसनमा दुर्गाराज श्रेष्ठ र युथ इन्टरप्रेनरशिप अवार्डबाट रोजल शाही सम्मानित भए। त्यस्तै, अटोमोटिभ क्षेत्रतर्फ मोरङ अटो वक्र्स र प्रदीपमान प्रधानले अवार्ड हात पारे भने मोबाइल प्रविधिमा भिभो मोबाइल्स र स्वास्थ्य बीमातर्फ ह्याम्स हस्पिटल उत्कृष्ट ठहरिए। संस्थागत विधामा आईसीएफसी फाइनान्स, नबिल इन्भेष्टमेन्ट बैंकिङ, शिखर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, गरिमा विकास बैंक र नबिल बैंक लिमिटेड आ-आफ्नो क्षेत्रमा सर्वोत्कृष्ट घोषित भए।
नेतृत्व विधातर्फ राजेन्द्र राउत, रघुनन्दन मारु, टङ्कप्रसाद पोखरेल, गणेश कार्की र सुरेन्द्रकुमार उप्रेती सम्मानित भए भने व्यावसायिक नेतृत्वमा संघर्ष विष्ट, दीपक श्रेष्ठ, नरेन्द्रलाल श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ र किरणराज पाण्डेले अवार्ड प्राप्त गरे। समारोहमा यस वर्षको प्रतिष्ठित ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ वरिष्ठ उद्योगी सुरेन्द्रवीर मालाकारलाई प्रदान गरियो।
अवार्ड समारोहसँगै मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रका चुनौती र आर्थिक पुनरुत्थानका सम्भावनाबारे विशेष छलफलसमेत भएको थियो। छलफलमा राज्य व्यवस्था समितिका सभापति हरि ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसङ्घ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायत उद्योगी-व्यवसायीहरूको सहभागिता थियो। कर्पोरेट मिडिया ग्रुपले विगत १८ वर्षदेखि निजी क्षेत्रको मनोबल बढाउन र सफल व्यावसायिक अभ्यासलाई प्रोत्साहन गर्न यो अवार्ड प्रदान गर्दै आएको छ।










