२३ जनवरीः युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ महकुमा खेलकुद संघको आयोजनमा जारी शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको एघाह्रौं संस्करणमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले सेमिफाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा मंगलवार भएको टुर्नामेण्टको दोस्रो क्वार्टर फाइनल म्याचमा केएफसी-ले भूटानको फुञ्चोलिंग हीरोज एफसी-लाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट पूजन सुब्बाले ह्याट्रिक गरे। उनले १२औं, ६५औं र ८७औं मिनटमा गोल गरे। यसरी भूटानको टीमबाट लाक्पाले ४३औं मिनटमा गोल गरे। पूजन सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा युनाइटेड एफसी दार्जीलिङ र ईष्ट बेंगल फूटबल एकाडमी (राजगञ्ज)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा १२ वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ, जसमा उत्तर बंगालका शीर्ष क्लबहरूको साथमा नेपाल र भूटानको टीम पनि सामेल छन्। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २९ जनवरीमा हुनेछ। यसरी फाइनल ३१ जनवरीमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









