गान्तोकः अखिल किराँत राई संघ (एकेआरएस) सिक्किमले किरात राई समुदायका दशजना विशिष्ठ व्यक्तित्वलाई अभिनन्दन जनाएको छ। अखिल किराँत राई संघ सिक्किमको केन्द्रिय समितिले आज पूर्व सिक्किमको राङ्का राई गाउँस्थिति पारुहाङ साप्तेन माङखिममा आयोजित कार्यक्रम अवधि सिक्किम लगायत अन्य स्थानका किरात राई समुदायका व्यक्तित्वलाई अभिनन्दन जनाएको हो। यस कार्यक्रममा सिक्किमका मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङ मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। किरात राई संघले संघको केन्द्रिय समितिका पूर्व उपाध्यक्ष डीके राई, समितिको सिच्छे ब्लकका अध्यक्ष केआर बर्खाम, संस्कृति विभागका निरिक्षण देवीराम राई, गाइनोकोलोजिमा सुपर स्पेसियालिस्ट डाक्टर रोमी राई, सिक्किम राज्य विश्वविद्यालयकी सहायक प्राध्यापक डाक्टर रिना राई, शिक्षक डाक्टर याम प्रसाद राई, गायक तथा संगीतकार डाक्टर मनोज राई, माइक्रोबायोलोजिस्ट डाक्टर रञ्जिता राई, नेपाली साहित्य परिषद सिक्किमले भानु जयन्ती २०२३ मा आयोजन गरेको राष्ट्रिय प्रतियोगिताकी विजोता स्मिता सोताङ राई र विद्यार्थी कवि सबिना राईलाई अभिनन्दन जनायो।

सामाजमा विशिष्ट योगदान पुऱ्याएका व्यक्तित्वलाई अभिनन्दन जनाएर युवा पुस्तालाई सामाजिक क्षेत्रमा प्रोत्साहन गराउने उद्देश्यका साथ अखिल किराँत राई संघ सिक्किमले अभिनन्दन कार्यक्रम आयोजन गरेको जेकब खालिङले बताए। यस अवसरमा अखिल किराँत राई संघ सिक्किमको आम सभा पनि आयोजन गरिएको थियो। अभिनन्दन कार्यक्रमपछि आयोजन गरिएको आम सभामा किराँत राई समुदायको भाषा, साहित्य र संस्कृति विषयमा अन्तरराष्ट्रिय सम्मेलन आयोजन गर्ने, संघको नयाँ समिति गठन र संविधान संसोधन बारे छलफल गरिएको, सिबिएसई बोर्ड अन्तर्गत १२औं श्रेणीसम्म राई भाषा पढाउने विषय लगायत राई भाषाका शिक्षकहरूको नियुक्ति बारे सभामा विस्तृत छलफल भएको बताइएको छ। अभिनन्दन कार्यक्रमसँगै आयोजित आम सभामा संघका अध्यक्ष मोहन दुङमाली, केन्द्रिय समितिका सदस्यहरू, विभिन्न शाखा समितिका सदस्य साथै राई समुदायका प्रतिनिधिको उपस्थिति रहेको थियो।









