एउटा भाषा त्यस समुदायको संस्कृति र परम्पराको संवाहक हुन्छ: राज्यपाल

photocollage_202482002358511

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले नेपाली भाषा मान्यता दिवसको अवसरमा सिक्किमवासी एवं विश्व नेपाली समुदायलाई बधाई दिएका छन्।

राज्यपाल माथुरले आज जारी आफ्नो सन्देशमा भनेका छन्, २० अगस्त, १९९२ मा भारतीय संविधानको आठौं अनुसूचीमा भारतीय नेपाली भाषाले संवैधानिक भाषाको रूपमा मान्यता प्राप्त गरेर एउटा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। हाम्रो भाषा, हाम्रो अस्तित्व र पहिचान हो।

राज्यपालले अझ भनेका छन्, एउटा भाषा त्यस समुदायको संस्कृति र परम्पराको संवाहक हुन्छ। कुनै भाषा विलुप्त हुॅंदा त्यससॅंग सम्बन्धित मानवीय इतिहास र सांस्कृतिक विरासत पनि हराएर जान्छ। यस कारण हामी आफ्नो भाषाको संवर्धन र संरक्षणको निम्ति सदैव प्रयासरत रहनुपर्छ।

राज्यपालले नेपाली भाषा मान्यताको निम्ति अथक प्रयास गर्ने ती दीर्घदर्शीहरूप्रति पनि सम्मान व्यक्त गरेका छन्। उनले आफ्नो भाषामाथि गर्व गर्दै अन्यहरूका भाषाको पनि सम्मान गरौं र एउटा अझ सौहार्दपूर्ण समाजको निर्माण गरौं भनी आह्वान पनि गरेका छन्।

About Author

Advertisement