रायगन्ज: ६ जना युवक जसले आत्महत्या गर्ने युवतीलाई बचाए उनीहरुलाई स्वयंसेवी संस्थाद्वारा संवर्द्धना जनाए। गत राति फुलबारी टिस्टा क्यानलमा हाम फालेर आत्महत्या गर्ने प्रयास गर्ने युवतीलाई बचाउने युवकहरूलाई आज सिलगढीको एउटा स्वयंसेवी संस्थाको तर्फबाट संवर्द्धना जनाइयो। प्राप्त जानकारी अनुसार सिलगढीको भक्तिनगर श्रद्धा वेलफेयर सोसाइटीद्वारा आज फुलबारीका बापी विश्वास, आशीष बैरागी, राजेश मण्डल, आनन्द, विपुल तथा वासुदेव नाम गरेको ६ जना युवकलाई खदा बलगाइदिएर फुलको गुच्छा तथा मिठाई प्रदान गरेर सम्मान जनाइयो। स्मरण रहोस्, फुलबारी १ नम्बर ग्राम पञ्चायतको श्रीनगर कोलनी निवासी उक्त युवतीले प्रेममा धोका पाएपछि टिस्टा क्यानलमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी थिइन्। फुलबारी मर्डरमोड इलाकाको टिस्टा क्यानलमा युवती पानीमा तैरिरहेको इलाकाका केही युवकहरूले देखेपछि तत्कालै नदीमा ओर्लेर उक्त युवतीलाई उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा लगे। यस सम्बन्धमा भक्तिनगर श्रद्धा वेलफेयर सोसाइटीका सचिव पुजा मुख्तारले भनिन्, गत राति उक्त युवकहरूले आफ्नो ज्यान जोखिममा राखेर टिस्टा क्यानलमा हाम फाल्ने युवतीलाई बचाएको थियो। यसैले आज संस्थाको तर्फबाट ती युवकहरूलाई संवर्द्धना जनाइएको हो।










