‘उदय’ विश्रामाङ्क विमोचित

00-1-IMG-20230514-WA0145

वाराणसी:  इसाब्द १९३७-देखि काशीबाट प्रकाशमा आइरहेको ‘उदय’ पत्रिकाको विश्राम अङ्क आज विमोचन भयो। सम्पादक दुर्गाप्रसाद श्रेष्ठका भानिज विकासको आवासमा आयोजित विमोचन कार्यक्रममा काशी हिन्दू विश्वविद्यालयका चयनित  विद्यार्थीहरूका साथै उदय माथि पीएचडी शोध गरेका तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका सहायक प्राध्यापक डा. अमित थापा, वाराणसीको सेन्ट्रल हिन्दू गर्ल्स स्कूलकी अध्यापिका डा. लाक्पाडोमा भुटिया, काहिविवि.-की शोधार्थी सृजना शर्मा भेला भएका थिए। काहिविवि.-को भाभावि-अध्यक्ष प्रो. दिवाकर प्रधानको बाहुलीबाट विश्रामाङ्क अर्थात् पूर्णाङ्क १८३ वैशाख २०८० विमोचन गरियो। 

आफ्नो वार्धक्यता र कतिपय असुविधाका कारणले उचित समयमा ‘उदय’ प्रकाशमा ल्याउन असमर्थ हुनाले तर पाठकहरूको सद्भावनालाई आदर गर्नुपर्ने हुनाले समापन गर्न नसकिने कुरा व्यक्त गर्दै सम्पादकले आफ्नो स्वामित्वमा रहेको पत्रिका अरूमा हस्तान्तरित गरिहाल्न नसकिने हुनाले अहिलेलाई विश्रामाङ्क निकाल्न बाध्य बनेको आत्मस्वीकृति ज्ञापन गरे। डा. थापाले उदयमाथि शोधको सम्भावना अझ धेरै रहेको चर्चा गरे भने प्रो. प्रधानले  उदयको दीर्घतालाई प्रतिष्ठा गरीकन दीर्घायुको  कामना गरे। काहिविवि.-की प्राक्तन छात्रा तथा सिक्किमको डिक्चु वरिष्ठ माध्यमिक विद्यालयकी वर्तमान अध्यापिका कवयित्री पुष्प शर्मा पनि काशी भ्रमणावधिमा सुयोगले संलग्न भई आफ्नो कविता सँगालो ‘पुष्प पराग’ सम्पादक श्रेष्ठलाई उपहार दिइन्।

काशीमा जन्मेका काशीबहादुर श्रेष्ठले १९३७-देखि ‘उदय’ प्रकाशन थालेका थिए भने १९३९ मा जनकपुरमा वर्तमान सम्पादक दुर्गाप्रसाद श्रेष्ठको जन्म भएको थियो। दुर्गाप्रसाद श्रेष्ठ सानै वयमा आफ्ना बाबु काशीबहादुर श्रेष्ठका साथ काशी आएदेखि काशीमै स्थायी बसोबास गर्दै आएका छन्। बाबुको निधनपछि यिनले नै अहिलेसम्म ‘उदय’-लाई निरन्तरता दिँदै आएका छन्। साहित्यकार श्रेष्ठका नेपाली भाषामा ‘सम्झनाको बादल’ र ‘सोनिया’ कथा सङ्ग्रह, ‘चण्डी घोष स्ट्रीट’, ‘वाग्मती साक्षी छ’, ‘उसको अन्तहीन कथाहरू’ र ‘कोसेली’ उपन्यास तथा ‘देश-देशान्तर’ यात्रा संस्मरण प्रकाशित छन्। हिन्दी भाषामा ‘सत्तारे मौसी’ कथा सङ्ग्रह छ भने श्री ५ महेन्द्रले प्रकाशमा ल्याइदिएको नेपाली कथा सङ्ग्रह ‘सम्झनाको बादल’-को मराठी भाषामा ‘आठव मेघ’ र तेलुगू भाषामा पनि अनूदित संस्करण निस्किसकेका छन्। स्वामी योगानन्दको ‘अटोबायोग्राफी अफ् योगी’लाई आफ्नो नाम नदिनुभईकन नेपाली अनुवाद गर्ने पनि श्रेष्ठ नै हुन्। 

साहित्य अकादेमीको मेकर्स अफ् इण्डियन लिटरेचर सिरिजमा यिनले आफ्ना बाबुबारे अङ्ग्रेजीमा काशी बहादुर श्रेष्ठ (२००३) लेखेका छन्। यिनी विशुद्ध नेपाली, हिन्दी र अङ्ग्रेजीका प्रवीण लेखक हुन्। द्रुत गतिमा अनुवाद गर्नमा पनि सिद्धहस्त छन्। यिनको अनुवाद कला विलक्षणको छ। यहाँकै प्रकाशनमा कृष्णप्रसाद पराजुलीद्वारा सम्पादित ‘काशीबहादुर श्रेष्ठ स्मृति ग्रन्थ’ (इ.१९९६) निस्केको थियो भने यिनको सम्पादनमा १७वटा लेखहरूको सङ्ग्रह ‘काशी बहादुर श्रेष्ठ: व्यक्तित्व र कृतित्व’ (२०१३) साहित्य अकादेमीले प्रकाशमा ल्याइदिनाका साथै काशीनगरीमा काशीबहादुर श्रेष्ठ शतवार्षिकी समारोह आयोजन गरिदिएको थियो। श्रेष्ठका बुवा काशीबहादुर श्रेष्ठ सम्पादक हुनाका साथै ‘तोता मैना’ पुनर्लेखन गर्नुहुने व्यक्ति थिए। काशीबहादुरको एउटै कथा सङ्ग्रह ‘ग्रेजुएट’ अप्राप्य छ। १२वटा प्रकाशित कविता छन्। ‘उषा’ (ई १९३९) र ‘वचन’ (१९४४) गरी दुई उपन्यास नेपाली भाषा प्रचारिणी समितिबाट निस्किएका थिए। ‘गोरखापत्र’-मा सम्पादन वृत्ति निर्वाह गरिरहँदा यिनकै पटकथा लेखनमा दोस्रो नेपाली चलचित्र ‘आमा’ (इ. १९६४) बनिएको थियो। काशीका नेपालीभाषी गोर्खाजनका अभिभावक तथा नेपाल र भारतबीच सेतु ठानिएका दुर्गाप्रसाद श्रेष्ठको सम्पादकत्वमा प्रकाशित उदयको विश्रामाङ्क विमोचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो।

 

About Author

Advertisement