उत्तर बङ्ग विश्वविद्यालयको नेपाली विभागमा भानु जयन्ती समारोह

00-1-NBU

सिलगढी: आज उत्तर बङ्ग विश्वविद्यालयको नेपाली विभागमा २०९औँ भानु जयन्ती समारोह भव्यतापूर्वक पालन गरियो। विभागीय अध्यक्ष डा पुष्कर पराजुलीको अध्यक्षतामा सम्पन्न भएको समारोहमा अतिथिद्वय डा मनोज विश्वकर्मा (हिन्दी विभाग) तथा डा लाक्पा तामाङ (भौतिक विज्ञान विभाग) र नेपाली विभागका प्राध्यपकगण डा डपछिरिङ लेप्चा र श्रीमती कृष्णमाया मगरको विशेष उपस्थित रहेको थियो। कार्यक्रमको पहिलो चरणमा रवीन्द्र भानु मञ्चस्थित भानुभक्त अनि रवीन्द्रनाथ ठाकुरको सालिगमा नेपाली विभागका अध्यक्ष तथा प्राध्यपकगणका बाहुलीबाट धूप दीप तथा माल्यार्पण गरेर श्रद्धा अर्पण गरियो। कार्यक्रमको दोस्रो चरण विभागको सङ्गोष्ठी कक्षमा भानुभक्तको तस्बिरमा दीप प्रज्ज्वलन अनि माल्यार्पणपछि सुरु भयो। प्रितम राईद्वारा सञ्चालित तथा आयुष तामाङको स्वागत सम्बोधनबाट थालिएको यस कार्यक्रममा पिएचडीका शोधार्थीवर्गले रामायणका श्लोकहरू पाठ गरेका थिए। यस अवसरमा भानु जयन्तीको औचित्य तथा भानुभक्तबारे विभागीय अध्यक्ष्य डा पुष्कर पराजुली, डा डप छिरिङ लेप्चा तथा डा मनोज विश्वकर्माले मन्तव्यराखे। डा पुष्कर पराजुलीले भानुभक्त र उनका कृतिहरूको दृष्टान्त दिँदै भानुभक्त कर्मवीर हुन् र उनको वीरताका निम्ति सधैँ उनको सम्झना गर्नुपर्ने बताए।डा डप छिरिङ लेप्चाले भानुभक्तको जन्म नेपालमा भए तापनि कला तथा कलाकारलाई भौगोलिक सीमाले नबाँधेको हुँदा उनको जन्म जयन्ती मनाउँदै आएको र भानु जयन्तीले भारतभरि छरिएर बसेका नेपालीलाई एक्तताको सूत्रमा बाँध्ने काम गरेको कुरा गरे। यसरी नै डा मनोज विश्वकर्माले भानुभक्तलाई अन्य भाषाका साहित्यमा समेत चिनाउनुआवश्यक छ भन्ने मन्तव्यमा राखे।शोधार्थी बुनु शर्माले ‘मार्क्सवादी दृष्टिकोणका आधारमा भानुभक्तका कृतिकोअध्ययन’ शीर्षक वार्तामा भानुभक्तलाई प्रगतिशील स्रष्टा मान्न सकिन्छ भने।कार्यक्रममा शोधार्थी कोमल सुब्बा, महेश छेत्री तथास्नातकोत्तरदोस्रो सत्रका विद्यार्थी श्रवण प्रधानले कविता वाचन गरे भने महिमा विश्वकर्माले नृत्य अनि शिवम् शर्मा, ऋतु लामा र नेहाल लामिछाने (संयुक्त), जयप्रसाद राई र नेहाल लामिछानेले गीत प्रस्तुत गरेका थिए। नेपाली विभागका विद्यार्थी, शोधार्थीलगायत अन्य विभागका शोधार्थीको पनि उपस्थिति रहेको कार्यक्रममा हाजिर जवाफ प्रतियोगिता राखिएको थियोभने धन्यवाद ज्ञापन शोधार्थी सचिन छेत्रीले दिएका थिए।

 

About Author

Advertisement