उत्तर-पूर्वी भारतकै सबैभन्दा ठूलो अर्गानिक मसला प्रशोधन केन्द्रको उद्घाटन

5b760750-1b67-4c58-93b8-4ed8bd1cc12e

गान्तोक: उत्तर-पूर्वी भारतमा अर्गानिक खेती र कृषि क्रान्तिलाई नयाँ दिशा दिने उद्देश्यका साथ मेघालयको रि-भोई जिल्लामा क्षेत्रीय स्तरकै सबैभन्दा ठूलो अत्याधुनिक अर्गानिक मसला प्रशोधन केन्द्रको भव्य उद्घाटन गरिएको छ। यस ऐतिहासिक समारोहमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) विशेष रूपमा उपस्थित हुनुभएको थियो। केन्द्रीय वित्त मन्त्री श्रीमती निर्मला सीतारमणको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस उच्च-स्तरीय समारोहमा उत्तर-पूर्वी भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरू, केन्द्र तथा राज्य सरकारका मन्त्रीगण, कृषि वैज्ञानिकहरू र प्रशासनिक क्षेत्रका विशिष्ट अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। समारोहमा सहभागी भएपछि मुख्यमन्त्री प्रेमसिंह तामाङले सामाजिक सञ्जालमार्फत केही विशेष तस्बिरहरू सार्वजनिक गर्दै यस प्लान्टको स्थापना उत्तर-पूर्वका लागि एउटा ऐतिहासिक कोसेढुङ्गा भएको बताउनुभएको छ।
मुख्यमन्त्री गोलेले यस अत्याधुनिक प्लान्टको स्थापनाले यस क्षेत्रमा अर्गानिक कृषि, मूल्य अभिवृद्धि र दिगो आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न एउटा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभएको छ। यस भ्रमणका क्रममा मुख्यमन्त्री गोलेले केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमण र उत्तर-पूर्वी राज्यका अन्य मुख्यमन्त्रीहरूसँग यस क्षेत्रको आर्थिक विकास, अर्गानिक उत्पादनको बजारीकरण र अन्तर-राज्य व्यापारिक सहकार्यबारे अनौपचारिक तर महत्त्वपूर्ण छलफल समेत गर्नुभएको छ। देशकै पहिलो पूर्ण अर्गानिक राज्य भएकाले पनि यस प्रशोधन केन्द्रको उद्घाटनमा सिक्किमका मुख्यमन्त्रीको उपस्थितिलाई राजनीतिक तथा आर्थिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ।
यस क्षेत्रकै सबैभन्दा ठूलो मानिएको यो अत्याधुनिक प्लान्टले उत्तर-पूर्वी भारतमा उत्पादित अधुवा, अलैंची, बेसार लगायतका जैविक मसलाहरूलाई उच्च स्तरमा प्रशोधन, लेबलिङ र प्याकेजिङ गर्ने कार्य गर्नेछ। कृषि विज्ञहरूका अनुसार यस प्लान्टको सञ्चालनपछि सिक्किम र अन्य छिमेकी राज्यका किसानहरूले आफ्ना अर्गानिक उत्पादनहरूको सही मूल्य पाउनेछन् र यहाँका उत्पादनहरू सिधै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने बाटो खुल्नेछ। कार्यक्रमको समापन पश्चात् मुख्यमन्त्री गोलेले यस दूरगामी परियोजनाको सफल सुरुआतका लागि मेघालय सरकार, केन्द्रीय वित्त मन्त्रालय र सम्बद्ध सम्पूर्ण टोलीलाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभएको छ।

About Author

Advertisement