उत्तराखण्डमा ठूलो हिमपैह्रो, कम्तीमा १० जनाको मृत्यु

00-Aavalenche

देहरादुन। उत्तराखण्डको उत्तरकाशीको भटवारी ब्लकमा रहेको द्रौपदीको डाँडा–२ हिमालको हिमपैह्रोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। साथै हिउँमा पुरिएका अन्य आरोहीहरुको खोजी कार्य जारी रहेको छ। राष्ट्रिय संचारमाध्यमका अनुसार नेहरु इन्स्टिच्युट अफ माउन्टेनियरिङ (एनआईएम)का प्रिन्सिपल अमित बिष्टले सो जानकारी दिएका हुन्। उनका अनुसार १० शव देखिएका छन्, जसमध्ये चार जनाको शव निकालिएको छ। कर्णेल अमित बिष्टले हिमपैह्रोमा फसेका ‘एनआईएम’का ३४ जना प्रशिक्षार्थी आरोही र ७ जना प्रशिक्षकको टोली फर्किने क्रममा रहेको बताए। उनका अनुसार १० शव देखिएका छन्, जसमध्ये चार जनाको शव निकालिएको छ। बिहान ८.४५ बजे हिमपैह्रो भएको उनले बताए।

यो ठाउँ समुन्द्र सतहबाट १६ हजार फिटको उचाइमा थियो। उच्च उचाइका कारण हेलिकप्टरको सहायताले मानिसको उद्धार भइरहेको छ। हिमपैह्रोपछि उद्धार गरिएका प्रशिक्षार्थी आरोहीहरूलाई सबैभन्दा पहिले १३ हजार किलोमिटरको उचाइमा रहेको आईटीबीपी शिविर मथली हेलिप्याडमा ल्याइयो। यसअघि उत्तरकाशी प्रकोप व्यवस्थापन अधिकृत देवेन्द्र पटवालले आठ आरोहीलाई आफ्नो टोलीले उद्धार गरेको र बाँकीको उद्दारको प्रयास भइरहेको जानकारी दिएका थिए। यस घटनाको खबर पाएलगत्तै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार कार्यलाई तीव्रता दिन सेनाको सहयोग मागेका छन्। एक ट्वीटमा धामीले राष्ट्रिय प्रकोप उद्धार बल, स्टेट डिजास्टर रेस्पोन्स फोर्स, इन्डो-तिब्बत सीमा पुलिस र नेहरू पर्वतारोहण संस्थानका पर्वतारोहीहरूको टोलीले उद्धार कार्य सुरु गरिसकेको बताए। मुख्यमन्त्री धामीले रक्षामन्त्री राजनाथ सिंहसँग पनि फोनमा कुरा गर्दै उद्धार कार्यलाई तिब्रता दिन सेनाको सहयोग मागेका छन्। अर्कोतर्फ रक्षामन्त्री राजनाथ सिंहले पनि घटनाप्रति दुःख व्यक्त गर्दै भनेका छन्, ‘म ज्यान गुमाएकोले दुःखी छु।’ उनले उत्तराखण्डका मुख्यमन्त्रीसँग कुरा गरेर अवस्थाबारे जानकारी लिएको पनि बताए। रक्षामन्त्रीले आरोहणमा अलपत्र परेका आरोहीहरुको उद्धार कार्य जारी रहेको आश्वासन दिए।

About Author

Advertisement