ईंग्ल्याण्ड विरुद्ध टेस्ट म्याच अघि कप्तान रोहित शर्मा कोरोना पोजिटिभ

२६ जूनः भारतले ईंग्ल्याण्ड विरुद्ध एक जुलाईदेखि पाँचौं टेस्ट म्याच खेल्नेछ अनि त्यसको ठीक अघि टीम इण्डियालाई गतिलो झट्का लाग्यो। भारतीय टीमका कप्तान रोहित शर्मालाई शनिवार गरिएको ऱ्यापिड एण्टीजन टेस्ट (आरएटी)-मा कोविड-१९ पोजिटिभ पाइयो। उनी अहिले टीमको होटलमै आइसोलेशनमा रहेका छन् अनि बीसीसीआई-को मेडिकल टीमले उनको हेरचाह गरिरहेको छ। अब आइतवार उनको आरटी-पीसीआर टेस्ट गरिनेछ। बीसीसीआई-ले ट्वीट गरेर बताएको छ, कप्तान अहिले टीम होटलमा क्वारण्टीनमा छन्। त्यहाँ उनी चिकित्सकहरूका देखरेखमा छन्। रोहित शर्माले शनिवार कोविडको ऱ्यापिड एण्टीजन टेस्ट (आरएटी) गराएका थिए, जसमा उनको रिपोर्ट पोजिटिभ आयो। रोहितले अप्टनस्टील क्रिकेट ग्राउण्डमा लीसेस्टरशर विरुद्ध भारतको अभ्यास म्याचमा हिस्सा लिएका थिए, जसमा ३५ वर्षीय खेलाड़ीले बिहीवार पहिलो ईनिंग्समा २५ रन बनाएका थिए।
रोहितले भारतको दोस्रो ईनिंग्समा चाहिँ ब्याटिंग गरेनन्। भारतीय पेस बलर जसप्रीत बुमराहको बलले चोट लागेको हुनाले रोहितले दोस्रो ईनिंग्समा ब्याटिंग गरेनन्। ईंग्ल्याण्ड विरुद्ध टेस्ट म्याच एक जुलाईदेखि बर्मिंघममा शुरु हुनेछ अनि रोहित ६ दिन आइसोलेशन बस्नु परे बुमराह या विकेटकीपर ब्याटर रिषभ पन्तले टीमको कप्तानी गर्ने सम्भावना छ।
यसअघि टीम इण्डियाका सीनियर अफ् स्पिनर रविचन्द्रन अश्विनलाई ईंग्ल्याण्ड जान अघि कोविड-१९ पोजिटिभ पाइएको थियो। यसैकारण उनी टीमसँग ईंग्ल्याण्ड जान सकेनन्। सूत्रबाट थाहालागे अनुसार, अश्विन अहिले स्वस्थ्य छन् अनि भारतीय टीममा सामेल भएका छन्। टीममा आए पनि उनले लीसेस्टरशर विरुद्ध अभ्यास म्याचमा हिस्सा लिएनन्। यसैकारण अहिले उनको फिटनेसलाई लिएर प्रश्न उठ्न थालेको छ। टीम इण्डियाका ओपनिंग ब्याटर केएल राहुल पनि चोटग्रस्त छन्। यसैकारण उनले दक्षिण अफ्रिका विरुद्ध पाँचवटा म्याचको टी२० सीरीजमा हिस्सा लिन सकेनन्। उल्लेखनीय छ, गत वर्ष (२०२१) एजबेस्टनमा सीरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याच कोविड प्रकोपले गर्दा रद्द गरिएको थियो, जुन अब एक जुलाईदेखि खेलिनेछ। भारत अहिले सीरीजमा २-१-ले अघि रहेको छ।

About Author

Advertisement