नटिंघम: ईंग्ल्याण्डले वेष्ट इण्डिजविरुद्ध दोस्रो टेस्ट म्याचको निम्ति आफ्नो प्रथम एकादशको घोषणा गऱ्यो। ईंग्ल्याण्ड र वेष्ट इण्डिजबीच दोस्रो टेस्ट म्याच बिहीवारदेखि यहाँको ट्रेण्ट ब्रीज मैदानमा शुरु हुनेछ। दोस्रो टेस्ट म्याचको निम्ति प्रथम एकादशमा केवल एउटा बद्लाउ भएको छ अनि पेस बलर जेम्स एण्डरसनको स्थानमा मार्क वुडलाई सामेल गरिएको छ। एण्डरसनले लर्ड्समा खेलिएको सीरीजको पहिलो टेस्ट म्याचपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। एण्डरसनले ईंग्ल्याण्डको निम्ति आफ्नो अन्तिम टेस्टमा जम्मा ४ विकेट लिएका थिए। साल २००३-मा लर्ड्समा पदार्पणपछि एण्डरसनले आफ्नो करियरको समापन श्रीलंकाका मुथैया मुरलीधरन (८००) र अष्ट्रेलियाका शेन वार्न (७०८) पछि टेस्ट क्रिकेटमा तेस्रो सर्वाधिक विकेट (७०४) विकेट हासिल गर्ने बलरको रूपमा गरे। वास्तवमा उनी टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने पेस बलर हुन्। यसअघि लर्ड्समा खेलिएको पहिलो टेस्ट म्याचमा ईंग्ल्याण्ड ईनिंग्स र ११४ रनले सजिलै विजयी भएको थियो। लर्ड्स टेस्टमा पेस बलर गस एटकिन्सनले ईंग्ल्याण्डको निम्ति पदार्पण गरी म्याचमा १२ विकेट लिएका थिए। उनले म्याचको पहिलो ईनिंग्समा ७ र दोस्रो ईनिंग्समा ५ विकेट लिएका थिए। यसरी उनी टेस्ट क्रिकेटमा ईंग्ल्याण्डको तर्फबाट पदार्पण म्याचमा सर्वश्रेष्ठ प्रदर्शन गर्ने बलर बनेका थिए। दोस्रो टेस्टको निम्ति ईंग्ल्याण्डको प्रथम एकादशः ज्याक क्राउली, बेन डकेट, ओली पोप, जो रुट, ह्यारी ब्रूक, बेन स्टोक्स (कप्तान), जेमी स्मिथ (विकेटकीपर), क्रिस वोक्स, गट एटकिन्सन, मार्क वुड र शोएब बशीर










