इलामलाई संकटग्रस्त जिल्ला घोषणा गर्न सुहाङको माग

IMG-20241008-WA0226

भद्रपुर: इलाम क्षेत्र नं. २ का सांसद सुहाङ नेम्वाङले इलाम जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेका छन्। सांसद नेम्वाङले बाढीपहिरोको कारण इलामले गम्भिर संकट भोगीरहेको उल्लेख गर्दै संकटग्रस्त जिल्ला घोषणाको माग गरेका हुन्।
सांसद नेम्वाङका अनुसार इलाम सदरमुकाम सहित ग्रामीण क्षेत्रमा समेत दैनिक उपभोग्यबस्तु, खानेपानी, पेट्रोलियम पदार्थको अभाव भएको छ। नेम्वाङले सामाजिक सञ्जालमा लेखेका छन् ‘गत ३ अक्टूबर मा गएको बाढीपहिरोको कारण मेची क्षेत्रको ‘लाइफ लाइन’ मेची राजमार्ग अन्तरगत इलामको राजदुवाली खण्ड क्षतिग्रस्त छ। इलाम अस्तव्यस्त छ। सदरमुकाम सहित ग्रामीण क्षेत्रमा समेत दैनिक उपभोग्यबस्तु, खानेपानी, पेट्रोलियम पदार्थको अभाव छ।’
नेम्वाङले इलामलाई संकटग्रस्त जिल्ला घोषणाका लागि गृहमन्त्री रमेश लेखकको ध्यानाकष्र्ण गराएको बताएका छन्। उनले लेखेका छन्, ‘दैनिक उपभोग्य बस्तुको अभाव, खानेपानी समस्या, पेट्रोलियम पदार्थको अभाव। यसरी आज इलामले जुन संकट र समस्या भोगिरहेको छ। इलाम पनि संकटग्रस्त जिल्ला हो। मैले आज बिहानै माननीय गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छु।’
यसैगरी नेम्वाङले गृहका अधिकारीहरुसँग पनि संवाद गरेको जानकारी दिएका छन्, ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलज्यू, गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भूसाल लगायतका सम्बन्धित अधिकारीहरुसँग कुरा गरेको छु। यहाँको पछिल्लो अवस्था बारेमा गहिरो गरी बुझाएको पनि छु। मेरो अनुरोध/माग छ, ‘इलामलाई तत्काल संकटग्रस्त जिल्ला वा इलामका प्रभावित क्षेत्रहरुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर तदअनुरुप हुने आवश्यक पहलकदमी लिइयोस्।’
४ अक्टूबर मा सरकारले बाढीपहिरो प्रभावित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। तर यसमा इलाम परेको छैन। सरकारले ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, संखुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, र धादिङ गरी १४ जिल्लालाई बढी प्रभावित ठहर गर्दै संकटग्रस्त जिल्ला घोषणा गरेको हो।
इलाम सदरमुकाम लगायतका माथिल्लो भेगमा सडकको कारण नाकाबन्दीको जस्तै अवस्था रहेको भन्दै नेम्वाङले तत्काल संकटग्रस्त जिल्ला वा क्षेत्र घोषणाका लागि माग गरेका हुन्।

About Author

Advertisement